Chauthoanga
२०८३ साउन २७ , बुधबार

बंगलाचुलीमा ‘JUMLEPANI UNITED’ गठन



मधुसूदन गिरी –
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दाङको बंगलाचुली वडा नम्बर ४ जुम्लेपानी क्षेत्रका युवाहरूले सामाजिक कार्यमा क्रियाशील हुने उदेश्यले JUMLEPANI UNITED गठन गरेका छन । समुदायका सदस्यहरूलाई एकताबद्ध गर्दै सामाजिक, शैक्षिक, स्वास्थ्य, खेलकुद तथा सामुदायिक क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले JUMLEPANI UNITED गठन गरिएको हो। संस्थाले युवाहरू तथा समुदायका सदस्यबीच एकता, भाइचारा, सद्भाव र सहकार्यको भावना विकास गर्ने लक्ष्य लिएको जुम्लेपानीका युवा मधुसूदन गिरीले बताउनुभएको हो। आर्थिक वा अन्य कारणले शैक्षिक सामग्रीको अभाव भएका विद्यार्थीलाई कापी, कलम, किताबलगायत आवश्यक शैक्षिक सामग्री सहयोग गर्ने तथा बिरामी, दुर्घटना, प्राकृतिक विपत्ति र अन्य आकस्मिक परिस्थितिमा आवश्यकताअनुसार सहयोग गर्ने उद्देश्य संस्थाले अघि सारेको छ। साथै जुम्लेपानीमा खेलकुदका गतिविधिमा समेत सक्रिय रहने युनाइटेडका सदस्य छविलाल घर्तीले बताउनुभएको छ ।

त्यसैगरी सरसफाइ, वातावरण संरक्षण, वृक्षरोपण, खानेपानी तथा अन्य आवश्यक सामाजिक विकासका गतिविधिमा समुदायसँग सहकार्य गर्ने संस्थाले जनाएको छ। युवाहरूलाई सकारात्मक गतिविधिमा सहभागी गराउँदै खेलकुद, प्रतिभा र सिर्जनात्मक क्षेत्रको विकास तथा प्रोत्साहन गर्ने योजना पनि जुम्लेपानी युनाइटेडको रहेको छ।
जात, धर्म, लिङ्ग, आर्थिक अवस्था, राजनीतिक विचार वा व्यक्तिगत सम्बन्धका आधारमा कुनै विभेद नगरी सबैलाई समान सम्मान र अवसर प्रदान गर्ने संस्थाको उद्देश्य छ। तत्कालीन सहयोगसँगै भविष्यका पुस्तालाई समेत फाइदा पुग्ने सामाजिक, शैक्षिक र मानवीय कार्यलाई निरन्तरता दिने लक्ष्य संस्थाले लिएको छ।
“मनहरू जोडौँ, सकारात्मक परिवर्तन सिर्जना गरौँ।” भन्ने मूल भावनाका साथ जुम्लेपानी युनाइटेडले समुदायका मानिसहरूलाई जोड्दै सकारात्मक परिवर्तन सिर्जना गर्ने अभियान अघि बढाउने जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधबार