यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदैछ। यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ। धार्मिक परम्पराअनुसार आज साँझ घरआँगन दीपावली गरी लक्ष्मीको स्वागत तथा पूजा आराधना गर्ने चलन छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन बिहान परेको हो। सोहीअनुसार आज बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा मनाउन लागिएको समितिले जनाएको छ।
लक्ष्मीपूजाका अवसरमा बिहानैदेखि घर, आँगन, झ्याल, ढोका, सङ्घार तथा कोठाहरू सरसफाइ गरी फूलमाला र विभिन्न सामग्रीले सजाउने गरिन्छ। सफासुग्घर र उज्यालो घरमा लक्ष्मीको बास हुने धार्मिक विश्वासअनुसार साँझ घरआँगनदेखि पूजाकोठासम्म दीप प्रज्वलन गरी देवी लक्ष्मीको स्वागत गरिन्छ।
कात्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्रि’समेत भनिन्छ। यस दिन घरको आँगनदेखि पूजा कोठासम्म चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाउने तथा पाइलैपिच्छे दियो बालेर घरलाई झिलिमिली बनाउने परम्परा रहेको छ। कतिपय स्थानमा गाईको गोबर र रातोमाटोले घरआँगन लिपपोत गरी रङ्गोलीसमेत बनाउने गरिन्छ।
सन्ध्याकालमा स्नान गरी धनलक्ष्मी, विद्यालक्ष्मी र ऐश्वर्यलक्ष्मीलगायतको विधिपूर्वक पूजा गर्ने धार्मिक मान्यता छ। यस अवसरमा कलश, धूप, दीप, फूल, अक्षता, फलफूल, मिठाई, धान, सिक्का, नयाँ नोट, पान, सुपारी तथा विभिन्न पूजासामग्री प्रयोग गरिन्छ।
पूजाका क्रममा सुरुमा दियो, कलश र गणेशको पूजा गरी लक्ष्मी स्थापना गरिन्छ। त्यसपछि गरगहना, धनसम्पत्ति, धान, चामल, फलफूल, सेलरोटी तथा फूलमाला चढाएर पूजा आराधना गर्ने चलन छ। पूजापछि आरती, दीपदान र मन्त्र उच्चारण गरी परिवारका सदस्यहरूले प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज सूर्यास्तपछि बेलुका ६ बजेर ५२ मिनेटसम्मको समय लक्ष्मीपूजाका लागि शुभ मानिएको छ।
लक्ष्मीपूजासँगै आज राति घरघरमा भैलो खेल्ने परम्परा पनि रहेको छ। विशेषगरी बालबालिका तथा युवायुवतीहरू समूह बनाएर घरघरमा भैलो खेल्दै सांस्कृतिक तथा धार्मिक महत्त्व बोकेको तिहारको मौलिक परम्परालाई निरन्तरता दिने गर्छन्।
यसैबीच, तिहारअन्तर्गत भोलि गाईपूजा, पर्सि २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ। २४ गतेदेखि नेपाल संवत् ११४७ समेत प्रारम्भ हुनेछ।
यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका तथा माला लगाइदिने धार्मिक तथा सांस्कृतिक परम्परा छ।










प्रतिक्रिया दिनुहोस्