Chauthoanga
२०८३ असोज २३ , शुक्रबार

स्वास्थ्य मन्त्री निशा मेहताद्वारा बंगलाचुली अस्पतालको अनुगमन



स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दाङको बंगलाचुली गाउँपालिकाद्वारा सञ्चालित आधारभूत अस्पतालको अनुगमन तथा निरीक्षण गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले अस्पतालको समग्र व्यवस्थापन, सेवा प्रवाहको वर्तमान अवस्था र सेवाग्राहीले पाइरहेको सुविधाका विषयमा प्रत्यक्ष जानकारी लिनुभयो। अस्पतालको अनुगमन पछि स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको बंगलाचुली गाउँपालिकाद्वारा सञ्चालित आधारभूत अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन आवश्यक पूर्वाधार, जनशक्ति र व्यवस्थापनमा ध्यान दिन निर्देशन दिनुभएको छ। अस्पतालको अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री मेहताले अस्पतालको व्यवस्थापन, स्वास्थ्य सेवा प्रवाह र सेवाग्राहीले पाइरहेको सेवाबारे जानकारी लिँदै सेवा सुधारका लागि आवश्यक व्यवस्थापनमा जोड दिनुभएको हो।

अनुगमनपछि मन्त्री मेहताले अस्पतालको सेवा प्रभावकारी बनाउन पूर्वाधार व्यवस्थापन, सेवा प्रवाहको सुधार तथा समग्र व्यवस्थापकीय पक्षलाई प्राथमिकतामा राख्न गाउँपालिकालाई सुझाव दिनुभएको थियो। नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउने वातावरण बनाउन अस्पतालको व्यवस्थापन चुस्त बनाउनुपर्ने उहाँको भनाइ थियो।

मन्त्री मेहताले अस्पताल सञ्चालनको वर्तमान अवस्था र सेवाग्राहीले पाइरहेको सेवाबारे जानकारी लिँदै उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग तथा सेवा सुधारका लागि आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभएको थियो। उहाँले अस्पताललाई व्यवस्थित बनाउँदै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।

अनुगमनका क्रममा बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनमगरले अस्पताल सञ्चालनमा देखिएका समस्या मन्त्री मेहतासमक्ष राख्नुभएको थियो। अध्यक्ष पुनमगरले गाउँपालिकाले अस्पताल सञ्चालनका लागि निरन्तर मेहनत गर्दै आएको भए पनि आवश्यक चिकित्सकको व्यवस्थापन गर्न नसकिएको बताउनुभयो।

उहाँले अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि गाउँपालिकाले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै आवश्यक चिकित्सक उपलब्ध नहुँदा अस्पतालको सेवा सञ्चालनमा चुनौती भइरहेको जानकारी गराउनुभएको थियो। अस्पतालको भौतिक तथा व्यवस्थापकीय पक्ष सुधार गर्न पालिकाले प्रयास गरिरहेको भए पनि दक्ष जनशक्ति व्यवस्थापनको समस्या समाधान गर्न सम्बन्धित निकायको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो।

अध्यक्ष पुनमगरले अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गरी स्थानीय नागरिकलाई आफ्नै क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक सहयोग र जनशक्ति व्यवस्थापनका विषयमा समेत मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो।

त्यसैगरी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले बंगलाचुली आधारभूत अस्पताल सञ्चालनका लागि मन्त्रालयबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले अस्पताललाई जनताको सेवामा निरन्तर समर्पित बनाउन आवश्यक व्यवस्थापन थप गर्न निर्देशन दिनुभएको थियो।

सचिव देवकोटाले अस्पतालको सेवा प्रवाहलाई निरन्तरता दिँदै उपलब्ध सेवाको प्रभावकारिता बढाउन आवश्यक व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभएको थियो। मन्त्रालयले अस्पताल सञ्चालनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै अस्पतालको सेवा सुधार र व्यवस्थापनका विषयमा थप पहल हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल, वरिष्ठ लेखा अधिकृत नारायणप्रसाद आचार्य, वडा नम्बर ३ का अध्यक्ष तथा बंगलाचुली अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष शोभाराज विश्वकर्मा, प्रशासन शाखा प्रमुख नुमाकान्त कालाथोकी, स्वास्थ्य शाखा प्रमुख नेवबहादुर केसी, अस्पतालका इन्चार्ज सुवास चन्द सेर्पाईलीलगायत अस्पतालका सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका बंगलाचुली गाउँपलिका सभापति विक्रम डाँगी,लगाएत रास्वपाका विभिन्न तहका नेताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रबार