दाङको बंगलाचुली गाउँपालिकामा खानेपानीको पहुँच विस्तार गर्दै ‘एक घर, एक धारा’ अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले २१ करोड ४५ लाख ७५ हजार रुपैयाँ बराबरको सह–लगानीमा खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन गर्ने सम्झौता भएको छ। संघीय सरकारअन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, नेपालगञ्ज, बंगलाचुली गाउँपालिका र बंगलाचुलीमा रहेको खानेपानी उपभोक्ता तथा सरसफाइ समितिबीच आयोजना कार्यान्वयनका लागि सम्झौता गरिएको हो।
खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, नेपालगञ्जले सह–लगानीमा खानेपानी योजना संचालनका लागि संझौता गरेको हो । ‘बंगलाचुली सह–लगानी खानेपानी तथा सरसफाइ आयोजना’ मार्फत गाउँपालिकाका विभिन्न बस्तीमा सुरक्षित, नियमित र व्यवस्थित खानेपानी सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ। आयोजनामा सरकार, स्थानीय तह तथा उपभोक्ता पक्षको सहकार्य रहने समझदारीपत्रमा उल्लेख छ।
बंगलाचुली गाउँपालिकाले लामो समयदेखि ‘एक घर, एक धारा’ अभियानलाई प्राथमिकतामा राख्दै आएको छ। भौगोलिक रूपमा विकट तथा पहाडी क्षेत्रमा अवस्थित बंगलाचुलीका कतिपय बस्तीमा अझै पनि खानेपानीका लागि टाढासम्म पुग्नुपर्ने, मुहान तथा परम्परागत स्रोतमा निर्भर हुनुपर्ने र वर्षायाम तथा सुख्खायाममा पानीको उपलब्धतामा समस्या हुने अवस्था छ। प्रस्तावित सह–लगानी आयोजना कार्यान्वयनमा आएपछि यस्ता समस्यालाई क्रमशः न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले खानेपानी नागरिकको आधारभूत आवश्यकता भएकाले गाउँपालिकाले यसलाई विकासको प्रमुख प्राथमिकताका रूपमा अघि बढाएको बताउनुभएको छ। उहाँका अनुसार ‘एक घर, एक धारा’ अभियान केवल घरमा धारा जडान गर्ने कार्यक्रम मात्र नभई नागरिकलाई सुरक्षित र नियमित खानेपानीको सुनिश्चितता गर्ने अभियान हो। संघीय सरकार, स्थानीय तह र उपभोक्ताको सहकार्यमा ठूलो लगानीको आयोजना अघि बढ्नु बंगलाचुलीका लागि महत्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभएको छ।
अध्यक्ष पुनमगरले खानेपानी आयोजना निर्माणसँगै त्यसको दीर्घकालीन सञ्चालन, संरक्षण र व्यवस्थापनमा समेत स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभएको छ। उहाँले आयोजना समयमै गुणस्तरीय रूपमा सम्पन्न गरी अधिकतम नागरिकलाई लाभान्वित गराउनेतर्फ गाउँपालिकाले आवश्यक समन्वय र सहजीकरण गर्ने बताउनुभएको छ।
सम्झौताको कुल रकम २१ करोड ४५ लाख ७५ हजार रुपैयाँ रहेकाले यसलाई बंगलाचुलीको खानेपानी क्षेत्रमा हालसम्म अघि बढाइएका महत्वपूर्ण लगानीमध्ये एकका रूपमा हेरिएको छ। आयोजनाले खानेपानी पूर्वाधार निर्माण तथा विस्तारसँगै सरसफाइको अवस्थासमेत सुधार गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
खानेपानीको पहुँच विस्तार हुनु स्वास्थ्य, सरसफाइ, महिला तथा बालबालिकाको दैनिक जीवन र समग्र जीवनस्तर सुधारसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो। घरमै नियमित खानेपानी उपलब्ध भएपछि पानी बोक्न खर्च हुने समय र श्रम घट्नुका साथै सुरक्षित पानीको प्रयोगबाट पानीजन्य रोगको जोखिम न्यूनीकरणमा समेत योगदान पुग्नेछ।
सह–लगानी अवधारणामा अघि बढ्ने उक्त आयोजनाले बंगलाचुलीमा ‘एक घर, एक धारा’ अभियानलाई संस्थागत र दीर्घकालीन रूपमा अघि बढाउन महत्वपूर्ण आधार तयार गर्ने देखिएको छ। आयोजना प्रभावकारी रूपमा कार्यान्वयन हुन सके गाउँपालिकाका थप घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार हुनुका साथै स्वच्छता र सार्वजनिक स्वास्थ्य सुधारमा समेत उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रम बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बंगलाचलुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल, गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत नारायण प्रसाद आचार्य, गाउँपालिकाका प्रवक्ता शोभाराज विश्वकर्मा, खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, नेपालगञ्जका सिडिई देवेन्द्र कुमार झा,ईन्जिनियर भक्ति प्रसाद काफ्ले, गाउँपालिका प्रशासन शाखा प्रमुख नुमाकान्त कालाथोकी,बंगलाचुली गाउँपालिका खानेपानी सहलगानिका अध्यक्ष नारायण डाँगी,सचिव ऋषीराज विश्वकर्मा,कोषाअध्यक्ष केशव जिसी लगाएतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्