Chauthoanga
२०८३ कात्तिक २१ , शुक्रबार

आजदेखि तिहार सुरु, पहिलो दिन धनतेरस र यमदीपदान मनाइँदै



नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। यमपञ्चकका रूपमा समेत परिचित पाँच दिनसम्म मनाइने यस पर्वको पहिलो दिन आज धनतेरस र यमदीपदान गरी मनाइँदैछ।

विशेषगरी मधेशको प्राचीन मिथिला क्षेत्रमा परम्परागत रूपमा मनाइँदै आएको धनतेरस पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा पनि लोकप्रिय बन्दै गएको छ। धनतेरसका अवसरमा साँझ घरघरमा दीप प्रज्वलन गरी धातुका नयाँ भाँडाकुँडा, सुनचाँदी तथा गरगहना खरिद गरेर पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा छ।

धनतेरसकै दिन साँझ यमदीपदान गर्ने चलनसमेत रहेको छ। यस दिन यमराजको पूजा गरी दीपदान गर्दा अकाल मृत्युको भयबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ।

यस वर्षको तिहारअन्तर्गत कात्तिक २१ गते शनिबार कागपूजा र धन्वन्तरी जयन्ती मनाइनेछ। त्यसैगरी कात्तिक २२ गते नरक चतुर्दशी, कुकुर तिहार तथा लक्ष्मीपूजा परेको छ। कात्तिक २३ गते गाईपूजा गरिनेछ भने कात्तिक २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ।

कात्तिक २४ गतेदेखि नेपाल संवत् ११४७ पनि सुरु हुनेछ। नेपाल संवत् नेवार समुदायको मौलिक नयाँ वर्षका रूपमा मनाइँदै आएको छ।

यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको छ।

तिहारलाई उज्यालो, आपसी सद्भाव, पारिवारिक मिलन र सांस्कृतिक एकताको पर्वका रूपमा लिइन्छ। पाँच दिनसम्म मनाइने यस पर्वमा काग, कुकुर, गाई, गोरु तथा दाजुभाइ–दिदीबहिनीबीचको सम्बन्धलाई विशेष महत्त्व दिँदै धार्मिक तथा सांस्कृतिक परम्परा निर्वाह गरिन्छ।

प्रकाशित मिति : २०८३ कात्तिक २१ गते शुक्रबार