भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका लागि पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम आज दाङको बंगलाचुली गाउँपालिकामा सम्पन्न भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जको आयोजना तथा बंगलाचुली गाउँपालिकाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
“सदाचार, निष्पक्षता, निर्भीकता” र “सुशासन र समृद्धि नागरिकको अधिकार: भ्रष्टाचार नियन्त्रणमा बनौँ सबै जिम्मेवार” भन्ने नाराका साथ आयोजना गरिएको यस अन्तरक्रियामा सुशासनका विविध पक्षबारे छलफल गरिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पर्क कार्यालय नेपालगन्जका अनुसन्धान अधिकृत विष्णुप्रसाद न्यौपानेको अध्यक्षता एवं बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनमगरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तुलसीराम पुनमगरले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न बंगलाचुली गाउँपालिका पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएका सुझावहरूलाई कडाइका साथ पालना गरिने समेत स्पष्ट पार्नुभयो। अख्तियारले हरेक निकाय र कार्यलाई पूर्ण रूपमा पारदर्शी ढङ्गबाट सम्पादन गर्न सचेत गराएको उल्लेख गर्दै अध्यक्ष पुनमगरले कतिपय अवस्थामा राजनीतिक प्रतिशोध र व्यक्तिगत रिसरागका कारण अख्तियारमा झुठा मुद्दा तथा उजुरी हाल्ने प्रवृत्तीसमेत देखिएको बताउनुभयो। बंगलाचुली गाउँपालिकाले विकास निर्माण र सेवा प्रवाहका हरेक काम कानुनसम्मत रूपमा अगाडि बढाएकाले पालिकाको विरुद्धमा कुनै पनि मुद्दाहरू दर्ता नभएको दाबी गर्दै उहाँले सुशासन र भ्रष्टाचाररहित सार्वजनिक सेवा प्रवाहका लागि गाउँपालिका सदैव अडिग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।अध्यक्ष पुनमगरले भ्रष्टाचारमुक्त पालिका बनाउन जनप्रतिनिधि र कर्मचारी सबैले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पर्क कार्यालय नेपालगन्जका अनुसन्धान अधिकृत विष्णुप्रसाद न्यौपानेले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । अधिकृत विष्णुप्रसाद न्यौपानेले सो अवसरमा भ्रष्टाचारको अर्थ, परिभाषा र परिचय , भ्रष्टाचार र अख्तियार दुरुपयोग अनुसन्धान ,आयोगसम्बन्धी , आयोग र कार्यालयको प्रगति तथा तथ्याङ्कीय जानकारी , भ्रष्टाचारको कसुर र सजायसम्बन्धी , भ्रष्टाचारजन्य उजुरीको प्रवृत्ति, सुधारका उपाय र सुझावहरू, अनुसन्धानमा परेका समस्याहरू र आयोगको अपेक्षा का विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बंगलाचुली गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष लिला बहादुर घर्ति,गाउँपालिकाका प्रशासन शाखा प्रमुख नुमाकान्त कालाथोकी लगाएतले अख्तियारले निरुपण गर्ने सेवको विभिन्न पक्षका वारेमा जिज्ञासा राख्नुभएको थियो । भने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडैल र अख्तियार कार्यालयका अनुसन्धान अधिकृत विष्णुप्रसाद न्यौपानेले जिज्ञासामाथी जवाफ दिनुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्षहरू वडा नं. २ का मैते पुन, वडा नं. ५ का निलेश घर्ती वडा नं. ८ का झविन्द्र बहादुर गाहा मगर, कार्यपालिका सदस्यहरू, गाउँपालिकाका शाखा प्रमुख तथा कर्मचारीहरू, माध्यमिक तथा उच्च माध्यमिक विद्यालयका वि.व्य.स. अध्यक्ष, प्रधानाध्यापक, स्थानीय गैरसरकारी संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका अध्यक्ष एवम् पदाधिकारीहरू, सञ्चारकर्मीहरू,नेपाल प्रहरी र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा कार्यरत नागरिक निगरानी समूहका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलको स्वागत मनतव्यबाट कार्यक्रमको सुरु भएको थियो ।









प्रतिक्रिया दिनुहोस्