नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कात्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार मनाइँदैछ। यमराजको दूतका रूपमा मानिने कागलाई बिहानै पूजा आराधना गरी मीठा परिकार तथा खानेकुरा दिएर यो पर्व मनाउने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईका अनुसार सूर्योदयकालमा त्रयोदशी तिथि परेका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यता छ। सोहीअनुसार यस वर्ष आज काग तिहार मनाउनुपर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो।
धार्मिक मान्यताअनुसार यमराजले संसारको खबर कागमार्फत प्राप्त गर्ने भएकाले कागलाई यमदूतका रूपमा पूजा गर्ने गरिएको हो। कागले यमराजसमक्ष शुभ समाचार पुर्याओस् भन्ने विश्वासका साथ आज कागलाई पूजा गरी मीठा खानेकुरा दिने चलन छ।
लोक व्यवहारमा पनि काग घरमा आएर कराएमा शुभ समाचार आउने विश्वास गरिन्छ। काग कराउँदा शुभ बोल्न आग्रह गर्ने प्रचलनसमेत नेपाली समाजमा रहेको छ।
यस अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा आराधना गरिन्छ। यस्तै, हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गर्ने परम्परा छ।
तिहार पर्व यमराजसँग जोडिएको धार्मिक विश्वासमा आधारित छ। दुष्कर्म गर्नेलाई यमराजले दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराजका रूपमा रक्षा गर्ने मान्यता छ। यम यातनाबाट मुक्ति प्राप्त हुने विश्वासमा परिवारका सदस्यका नाममा यमदीपदान गर्ने परम्परासमेत रहेको छ। वैदिक सनातन शास्त्रीय विधिअनुसार यमदीप दक्षिण फर्काएर दान गर्ने गरिन्छ।
यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक शुक्रबार बेलुकीदेखि नै सुरु भएको हो। लक्ष्मीलाई घरमा स्थिर राख्ने धार्मिक विश्वासका साथ मनाइने धनतेरस पर्व पनि शुक्रबार नै मनाइएको छ। धनतेरसका दिन गरगहना तथा तामाका भाँडाकुँडा खरिद गर्ने परम्परा छ।









प्रतिक्रिया दिनुहोस्