Chauthoanga
२०८३ असोज १७ , शनिबार

दाङमा तीव्र बन्दै स्क्रब टाइफसको संक्रमण  १ हजार ७४७ जनामा सङ्क्रमण



दाङ जिल्लामा पछिल्लो समय मुसामा लाग्ने किर्ना (माइट) को टोकाइबाट सर्ने संक्रामक रोग ‘स्क्रब टाइफस’ को प्रकोप तीव्र रूपमा फैलिएको छ। जिल्ला स्वास्थ्य कार्यालय दाङले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् हालसम्म जिल्लाभर कुल १ हजार ७ सय ४७ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय दाङको विवरण अनुसार जिल्लाका १० वटै स्थानीय तहमा यो रोगको संक्रमण फैलिएकोछ । विशेषगरी सहरी तथा सुगम उपमहानगरपालिकाहरूमा यसको प्रभाव व्यापक र भयावह देखिएको छ। तथ्याङ्क अनुसार जिल्लाको कुल सङ्क्रमणको ठूलो हिस्सा घोराही उपमहानगरपालिकाले ओगटेको छ। घोराहीमा मात्रै १ हजार ७४ जनामा  स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ ।  जुन जिल्लाको कुल सङ्क्रमित सङ्ख्याको आधाभन्दा बढी हो। घोराहीपछि दोस्रो बढी प्रभावित बनेको तुलसीपुर उपमहानगरपालिकामा २ सय ६८ जनामा यो रोगको सङ्क्रमण पुष्टि भएको छ। त्यसैगरी पहाडी क्षेत्रतर्फ बङ्गलाचुली गाउँपालिकामा १सय १३ जना र लमही नगरपालिकामा १ सय ३ जनामा स्क्रब टाइफसको सङ्क्रमण फेला परेको छ ।

अन्य स्थानीय तहहरूमा राप्ती गाउँपालिकामा ५३ जना, गढवा गाउँपालिकामा ५२ जना, राजपुर गाउँपालिकामा २८ जना, दङ्गीशरण गाउँपालिकामा २१ जना, शान्तिनगर गाउँपालिकामा १९ जना र बबई गाउँपालिकामा १६ जना सङ्क्रमित भएका छन्।

स्वास्थ्य मन्त्रालय तथा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रद्वारा जारी सचेतनामूलक दिशानिर्देश अनुसार स्क्रब टाइफस घाँस, झाडी वा खेतबारीमा काम गर्दा स-साना किर्ना जस्तो देखिने सङ्क्रमित ‘माइट’ को टोकाइबाट मानिसमा सर्ने गर्दछ। स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयका अनुसार यो रोगको संक्रमण भएमा निरन्तर धेरै ज्वरो आउने, धेरै पसिना आउने, अत्यधिक टाउको दुख्ने, झाडापखाला लाग्ने, शरीरमा बिबिरा देखिने र आँखा रातो हुने जस्ता लक्षणहरू देखा पर्छन्। विशेषगरी किर्नाले टोकेको ठाउँमा नदुख्ने कालो दाग वा पाप्रो जस्तो घाउ देखिनु यस रोगको प्रमुख पहिचान हो। स्वास्थ्य विशेषज्ञहरूले ज्वरो आएमा आफैं जथाभावी औषधि खाएर नबस्न र तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीसँग परामर्श लिन सुझाव दिएका छन् । साथै उनिहरुले रोगबाट जोगिनका लागि खेतबारी, घाँस वा झाडीमा जाँदा वा काम गर्दा पुरा शरीर ढाकिने कपडा र खुट्टामा बुट लगाउ, झाडी तथा घाँससँग प्रत्यक्ष सम्पर्कबाट जोगिनु, घाँस भएको ठाउँमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्न, घर वरपरको झाडी र अनावश्यक घाँस सफा खास्न सुझाव दिएका छन् ।  मुसामा लाग्ने किर्नाबाट सर्ने भएकाले मुसाको सम्पर्कबाट टाढा रहनुका साथै कीटनाशक वा किरा भगाउने पदार्थको  प्रयोग गर्नु उपयुक्त हुने चिकित्सकहरुको भनाई छ ।

 

 

 

प्रकाशित मिति : २०८३ असोज १७ गते शनिबार