यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज देशभर दाजुभाइ तथा दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव र सम्मानको प्रतीकका रूपमा भाइटीका पर्व मनाइँदैछ। कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने परम्परा छ।
धार्मिक मान्यताअनुसार यस पर्वलाई यमद्वितीया पनि भनिन्छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने चलन छ। दिदीबहिनीको पूजा गर्नाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
भाइटीका आज दिनभर लगाउन सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अध्यक्ष सहप्रा.डा. पुरुषोत्तम भट्टराईका अनुसार राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्नेछ।
समितिले यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्वतर्फ र टीका लगाइमाग्ने दाजुभाइ पश्चिमतर्फ फर्कनुपर्ने जनाएको छ।
भाइटीकाका दिन दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गर्छन्। त्यसपछि दाजुभाइलाई तेलको धाराले छेकेर पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने तथा मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला पहिर्याउने परम्परा छ।
सप्तरङ्गी टीका लगाउने चलन व्यापक भए पनि धर्मशास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङका टीका लगाउने व्यवस्था रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।
टीकापछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत परिकार दिने गर्छन्। दाजुभाइले पनि आफ्नो गच्छेअनुसार दिदीबहिनीलाई कपडा र दक्षिणा दिएर सम्मान प्रकट गर्ने परम्परा छ।
यसैबीच, नेवार समुदायले भाइटीकालाई किजापूजाका रूपमा मनाउने गर्छन्। कुल परम्पराअनुसार कसैले भाइटीकाकै दिन र कसैले अघिल्लो दिन किजापूजा गर्ने चलन छ।
भक्तपुरका धेरैजसो नेवार समुदायले भने तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णयअनुसार हिजो नै किजापूजा सम्पन्न गरेका छन्।









प्रतिक्रिया दिनुहोस्