यस वर्षको तिहारअन्तर्गत भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको भाइटीकाका लागि उक्त समयलाई उत्तम साइतका रूपमा निर्धारण गरेको हो ।
समितिका कार्यकारी निर्देशक तथा उपसचिव घनश्याम भुसालका अनुसार यस वर्षको भाइटीका कात्तिक २५ गते बुधबार मनाइनेछ । भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्ने समितिले जनाएको छ ।
यस वर्ष यमपञ्चकका पर्वहरू कात्तिक २० गते शुक्रबारदेखि सुरु हुनेछन् । कात्तिक २० गते धनत्रयोदशी अर्थात् धनतेरस र यमदीपदान गरिनेछ भने २१ गते काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइनेछ ।
त्यसैगरी, कात्तिक २२ गते नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक २३ गते गाईपूजा गरिनेछ भने कात्तिक २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । सोही दिनदेखि नेपाल संवत् ११४७ पनि सुरु हुनेछ ।
यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ । यससँगै पाँच दिनसम्म मनाइने तिहार पर्वको समापन हुनेछ ।
दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने परम्परा छ । यस अवसरमा दाजुभाइलाई मखमली तथा सयपत्री फूलका माला पहिर्याउने र आपसी शुभकामना तथा आशीर्वाद आदानप्रदान गर्ने चलनसमेत रहिआएको छ ।




प्रतिक्रिया दिनुहोस्