Chauthoanga
२०८३ असोज १७ , शनिबार

आगामी एक सातासम्म वर्षाको क्रम जारी रहने, सोमबार र मंगलबार भारी वर्षाको सम्भावना



भोलिदेखि देशमा मौसमी प्रणाली थप सक्रिय हुने भएको छ। माथिल्लो वायुमण्डलीय प्रभावका कारण आगामी एक सातासम्म तथा त्यसपछि पनि केही दिन देशका विभिन्न भूभागमा वर्षाको क्रम जारी रहने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिनुभयो।

मौसमविद् पोखरेलका अनुसार वर्षा देशभर एकैपटक वा दिनभर निरन्तर हुनेभन्दा पनि मुख्यतः अपराह्नपछि सुरु भएर साँझसम्म सक्रिय रहने सम्भावना बढी रहेको छ। मौसमी प्रणालीका कारण आगामी दिनमा देशका विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्ने देखिएको उहाँले बताउनुभयो।

आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। भोलि आइतबारदेखि मौसमी प्रणाली थप सक्रिय हुँदै सोमबार र मंगलबार देशका अधिकांश भूभागमा वर्षा फैलिने प्रक्षेपण गरिएको उहाँले जानकारी दिनुभयो।

सोमबार र मंगलबार केही स्थानमा छोटो अवधिका लागि भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको मौसमविद् पोखरेलले बताउनुभयो। वर्षाको प्रकृति र स्थानअनुसार यसको प्रभाव फरक पर्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई मौसमको अवस्था र आधिकारिक पूर्वानुमानमा ध्यान दिन आग्रह गरिएको छ।

यसैगरी, बुधबारदेखि वर्षाको गतिविधि केही कम हुने संकेत देखिएको छ। यद्यपि बिहीबार पहाडी भूभागका केही स्थानमा पुनः हल्का वर्षा हुन सक्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो।

मौसमविद्का अनुसार पछिल्ला दिनमा देखिएको मौसमी प्रणालीका कारण वर्षा निरन्तर रहने सम्भावना भए पनि यसको तीव्रता र अवधि स्थानअनुसार फरक हुन सक्नेछ। त्यसैले यात्रा, कृषि तथा दैनिक गतिविधि सञ्चालन गर्दा स्थानीय मौसमको अवस्था हेरेर आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ।

प्रकाशित मिति : २०८३ असोज १७ गते शनिबार