हिन्दु धर्मावलम्बीहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ आज नेपालसहित भारतका विभिन्न क्षेत्रमा सूर्यदेवको पूजाआराधना गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। विशेषगरी तराई तथा मधेस क्षेत्रमा मनाइने यो पर्व पछिल्लो समय पहाडी तथा हिमाली क्षेत्रमा पनि विस्तार हुँदै गएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सुरु हुने चारदिने छठ पर्व आज सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न हुँदैछ।
अहिंसा, परोपकार, सामाजिक सद्भाव र प्रकृतिप्रतिको सम्मानको सन्देश दिने छठ पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा गरिन्छ। सूर्यलाई सम्पूर्ण प्राणी तथा वनस्पतिको जीवन र ऊर्जाको स्रोतका रूपमा मान्दै यस पर्वमा विशेष उपासना गर्ने धार्मिक परम्परा छ।
चार दिनसम्म विभिन्न विधि र प्रक्रियाअनुसार मनाइने यस पर्वको पहिलो दिनलाई ‘नहाय–खाय’ भनिन्छ। यस दिन व्रतालुहरूले बिहानै स्नान गरी घर सफा गर्ने र चोखो तथा सात्त्विक भोजन ग्रहण गर्ने गर्दछन्। विशेषगरी भात, दाल र लौकाको तरकारी खाने परम्परा रहेको छ।
पर्वको दोस्रो दिन अर्थात् पञ्चमीलाई ‘खरना’ भनिन्छ। यस दिन व्रतालुहरू दिनभर निराहार उपवास बस्छन्। साँझपख पवित्र जलाशयमा स्नान गरी दूध, चामल र सख्खरबाट तयार पारिएको खीर प्रसादका रूपमा ग्रहण गर्छन्। यससँगै छठको मुख्य व्रत सुरु हुन्छ।
तेस्रो दिन षष्ठीका अवसरमा ‘सन्ध्या अर्घ्य’ दिइन्छ। व्रतालुहरू खोला, नदी, पोखरी तथा अन्य जलाशयमा पुगेर कम्मरसम्म पानीमा उभिई अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्। यस दिन रातभर नदी तथा जलाशयका किनारमा जाग्राम बसी भजनकीर्तन गर्ने चलन छ।
पर्वको अन्तिम दिन सप्तमीमा बिहान उदाउँदो सूर्यलाई ‘उषा अर्घ्य’ दिइन्छ। सूर्यलाई अर्घ्य दिएर पूजा विसर्जन गरेपछि व्रतालुहरूले प्रसाद ग्रहण गर्छन्। त्यसपछि परिवार, आफन्त र श्रद्धालुहरूलाई प्रसाद वितरण गर्दै चारदिने व्रत समापन गरिन्छ।
छठ पूजामा उखु, केराको बोट तथा फल, बेसार, अदुवा, नरिवल र जौ लगायतका सामग्री प्रयोग गरिन्छ। ठेकुवा र भुसुवा यस पर्वका विशेष परिकार हुन्। षष्ठी भगवती र सूर्यदेवको विधिपूर्वक पूजा गर्दा पारिवारिक सुख, शान्ति, समृद्धि तथा सन्तान प्राप्त हुने धार्मिक विश्वास छ। यस अवसरमा विशेषगरी सन्तान, पति र परिवारका सदस्यहरूको दीर्घायु तथा कल्याणको कामना गर्दै व्रत बस्ने गरिन्छ।
छठ पर्वको सुरुआतसँग सम्बन्धित विभिन्न धार्मिक तथा पौराणिक मान्यताहरू पनि प्रचलित छन्। रामायणकालीन मान्यताअनुसार लङ्का विजयपछि भगवान् राम र सीताले अयोध्यामा कार्तिक शुक्ल षष्ठीका दिन सूर्यदेवको उपासना गरी सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएका थिए।
त्यस्तै, सूर्य पुराणमा उल्लेख भएअनुसार अत्रि ऋषिकी पत्नी सती अनुसूयाले दाम्पत्य सुख र पारिवारिक कल्याणका लागि यो व्रत गरेको मानिन्छ। महाभारतकालमा द्रौपदीले पाण्डवहरूको वनवास र अज्ञातवास सफलताको कामना गर्दै सूर्यको आराधना गरेको तथा सूर्यपुत्र कर्णले नियमित सूर्य उपासना गरेको प्रसङ्ग पनि छठ पर्वसँग जोडिएको छ।
धार्मिक आस्थासँगै छठ पर्व प्रकृति र मानव स्वास्थ्यसँग पनि सम्बन्धित मानिन्छ। सूर्यको प्रकाश पृथ्वीमा जीवन र वनस्पतिको अस्तित्वका लागि आवश्यक भएकाले सूर्यलाई ऊर्जा र शक्तिको प्रमुख स्रोतका रूपमा पूजा गरिन्छ। बिहानको सूर्यको प्रकाशमा बस्ने अर्थात् सूर्यस्नानले शरीरमा सकारात्मक प्रभाव पार्ने मान्यता पनि छ।
यसरी धार्मिक आस्था, प्रकृतिप्रतिको सम्मान, पारिवारिक कल्याण र सामाजिक सद्भावलाई समेटेको छठ पर्व आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै विधिपूर्वक सम्पन्न हुँदैछ।







प्रतिक्रिया दिनुहोस्