Chauthoanga
२०८३ कात्तिक ३० , आइतबार

एनपीएलमा आज दुई खेल हुँदै



नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।प्लेअफमा पुग्ने चार टोलीको टुंगो लागिसकेको अवस्थामा आजका खेल लिग चरणको अन्तिम अंकतालिका र टोलीहरूको स्थान निर्धारणका दृष्टिले महत्त्वपूर्ण हुनेछन्। पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ।

प्रतियोगितामा चितवन राइनोजले ६ खेलबाट तीन जित, दुई हार र एक खेलमा नतिजाविहीन हुँदै सात अंक जोडेको छ। चितवन अंकतालिकाको चौथो स्थानमा छ। उसले विराटनगर किङ्सलाई ८ रन, पोखरा एभेन्जर्सलाई ३० रन र जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ। यस्तै, सुदूरपश्चिम रोयल्ससँग ५ विकेट र काठमाडौं गोर्खाजसँग १० रनले पराजित भएको थियो। लुम्बिनी लायन्ससँगको खेल वर्षाका कारण रद्द भएको थियो।

चितवनका लागि विदेशी खेलाडी रवि बोपाराले ब्याटिङतर्फ १८४ रन बनाएका छन्। बलिङमा रिजन ढकालले ११ विकेट लिएका छन्। जनकपुरविरुद्धको पछिल्लो खेलमा रञ्जितकुमारले दुई रन खर्चेर तीन विकेट लिएका थिए।यता, कर्णाली याक्सले ६ खेलबाट दुई जित र चार हारसहित चार अंक जोडेको छ। कर्णाली अंकतालिकाको सातौँ स्थानमा छ। उसले जनकपुरलाई १९ रन र विराटनगरलाई चार विकेटले हराएको थियो। त्यसपछि काठमाडौंसँग चार विकेट, सुदूरपश्चिमसँग ३९ रन, पोखरासँग ६३ रन र लुम्बिनीसँग चार विकेटले पराजित भएको थियो।

कर्णालीका पवन सर्राफले सर्वाधिक १५२ रन बनाएका छन् भने मार्क वाटले नौ विकेट लिएका छन्। लगातार चार खेलमा पराजित भएको कर्णाली चितवनलाई हराउँदै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ।चितवन र कर्णालीबीच यसअघिका तीन खेलमा कर्णालीले दुई र चितवनले एक जित निकालेका छन्। पहिलो संस्करणमा कर्णालीले दुवै खेल जितेको थियो भने दोस्रो संस्करणमा चितवनले चार विकेटको जित निकाल्दै बदला लिएको थियो।

आजको दोस्रो खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ। काठमाडौंले ६ खेलबाट चार जित र दुई हारसहित आठ अंक जोडेको छ। अंकतालिकाको तेस्रो स्थानमा रहेको काठमाडौंले विराटनगरलाई नौ विकेट, कर्णालीलाई चार विकेट, लुम्बिनीलाई ३४ रन र चितवनलाई १० रनले पराजित गरेको छ। जनकपुरसँग आठ विकेट र सुदूरपश्चिमसँग सात रनले पराजित भएको थियो।काठमाडौंका लागि राशिद खानले पाँच इनिङ्समा सर्वाधिक १५५ रन बनाएका छन्। बलिङतर्फ जाहन्दाद खानले ११ विकेट लिएका छन्।

यता, पोखरा एभेन्जर्सले ६ खेलबाट एक जित र पाँच हारसहित दुई अंक जोडेको छ। अंकतालिकाको अन्तिम अर्थात् आठौँ स्थानमा रहेको पोखराले कर्णालीलाई ६३ रनले पराजित गरेको थियो। तर, सुदूरपश्चिम, जनकपुर, लुम्बिनी, चितवन र विराटनगरसँग पराजित भएको थियो।पोखराका भारतीय मूलका युवा ब्याटर युवराज सामराले तीन इनिङ्समा २०५ रन बनाएका छन्। उनले कर्णालीविरुद्ध ४८ बलमा १० चौका र ६ छक्कासहित १०२ रनको शतकीय पारी खेलेका थिए।काठमाडौं र पोखराबीच यसअघिका दुई संस्करणमा भएका दुवै खेल काठमाडौंले जितेको थियो। पहिलो संस्करणमा काठमाडौंले पोखरालाई ६ विकेटले हराएको थियो भने दोस्रो संस्करणमा १३ रनको जित निकालेको थियो।

यसैबीच, शनिबार लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई पराजित गरेसँगै प्रतियोगिताको प्लेअफमा पुग्ने चार टोलीको टुंगो लागिसकेको छ। लुम्बिनी, सुदूरपश्चिम, काठमाडौं र चितवनले प्लेअफमा स्थान सुरक्षित गरेका छन्। विराटनगर, पोखरा, कर्णाली र जनकपुर भने प्रतियोगिताबाट बाहिरिएका छन्।यसर्थ, आजका दुवै खेल प्लेअफमा पुग्ने टोलीको टुंगो लगाउन नभई लिग चरणको अन्तिम स्थान, अंक र जितका साथ प्रतियोगिता टुंग्याउने अवसरका रूपमा महत्त्वपूर्ण रहनेछन्।

प्रकाशित मिति : २०८३ कात्तिक ३० गते आइतबार