Chauthoanga
२०८३ असोज ४ , आइतबार

असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह



नेपालमा आगामी असोज ८ देखि १२ गतेसम्म भारीदेखि अति भारी वर्षा हुनसक्ने मौसमविद्हरूले बताएका छन्। बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणाली र पश्चिमी वायुमण्डलीय प्रणालीबीच अन्तरक्रिया हुने सम्भावना रहेकाले देशका विभिन्न भूभागमा ठूलो वर्षा हुनसक्ने उनीहरूको आकलन छ। सम्भावित मौसमी अवस्थालाई ध्यानमा राख्दै मौसमविद्हरूले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको महाशाखाले जानकारी दिएको छ। उत्तर अन्डमन सागर तथा आसपासको क्षेत्रमा न्यूनचापीय क्षेत्र बनेको र उक्त प्रणाली थप विकसित हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको महाशाखाको आकलन छ।

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान मोडलहरूको अध्ययन गर्दा आगामी साता नेपालमा उल्लेख्य वर्षा हुने सम्भावना देखिएको बताउनुभएको छ। उहाँका अनुसार केही पूर्वानुमान मोडलले ४०० मिलिमिटरभन्दा बढी वर्षा हुने सम्भावना देखाएका छन्। केही मोडलमा ७४१ मिलिमिटरसम्म वर्षाको अनुमान देखिएको जानकारी उहाँले दिनुभएको छ।

पोखरेलले यस्तो वर्षा देशका धेरै स्थानमा वा केही निश्चित क्षेत्रमा केन्द्रित हुनसक्ने बताउँदै मौसमी प्रणालीले निम्त्याउन सक्ने अवस्था गम्भीर हुनसक्ने जानकारी दिनुभएको छ। प्रणालीको गति सुस्त भएमा लगातार तथा पटक–पटक वर्षा हुने अवधि अझ लम्बिन सक्ने उहाँको भनाइ छ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार प्रारम्भिक मौसमी ट्र्याकमा सुदूरपश्चिम र मध्य नेपालमा धेरै भारी वर्षा हुने सम्भावना देखिएको छ। पूर्वी बंगालको खाडीबाट विकसित हुने प्रणाली र पश्चिमतर्फको वायुमण्डलीय प्रणालीबीच अन्तरक्रिया हुने सम्भावना रहेको उहाँले बताउनुभएको छ। अन्डमन सागरमा चक्रवात विकसित भए पनि नभए पनि त्यसबाट नेपालमा प्रभाव पर्नसक्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभएको छ।

भारतीय मौसम विज्ञान विभागका अनुसार अन्डमन सागर आसपास न्यूनचापीय प्रणाली विकास हुने क्रममा रहेकाले त्यसको प्रभावबाट बंगालको खाडीमा मौसमी गतिविधि बढ्नसक्ने र नेपालतर्फ मनसुनी आद्रता भित्रिनसक्ने सम्भावना रहेको छ। भारतको उत्तरपश्चिमी क्षेत्रमा मनसुन बाहिरिएसँगै विकसित हुने सुक्खा हावाले बंगालको खाडीबाट आउने प्रणालीलाई उत्तरपश्चिमतर्फ अघि बढ्न अवरोध गर्नसक्ने र त्यसको प्रभाव नेपालतर्फ बढी पर्नसक्ने मौसमविद्हरूको आकलन छ।

नेपाल मौसम विज्ञान विभागले २४ घण्टामा ५० देखि १०० मिलिमिटरभन्दा कम वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरभन्दा कमलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षाका रूपमा वर्गीकरण गरेको छ।

नेपालमा सामान्यतया अक्टोबर २ आसपास मनसुन बाहिरिने गर्छ। तर यस वर्ष मौसमी प्रणाली सक्रिय रहेकाले मनसुन सोही अवधिको आसपासमा बाहिरिने सम्भावना रहेको मौसमविद् अधिकारीले बताउनुभएको छ। पछिल्ला केही वर्षमा असोज महिनामै भारी वर्षा हुने गरेको उल्लेख गर्दै मौसमविद्हरूले सम्भावित बाढी, पहिरो, डुबान तथा सडक अवरोधप्रति पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतबार