बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावका कारण आजदेखि आगामी शनिबारसम्म देशभर वर्षा र हिमपात हुने भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोदेखि मध्यमसम्मको वर्षा भई आज साँझदेखि शनिबारसम्म केही स्थानमा भारी वर्षा तथा उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ। आइतबारदेखि भने मौसममा क्रमिक सुधार आउने महाशाखाले जनाएको छ।
भारतबाट नेपालतर्फ सोझिएको मौसमी प्रणालीका कारण हिजोदेखि नै देशभर बदली सुरु भइसकेको छ। महाशाखाको पछिल्लो मौसमी बुलेटिनअनुसार प्रणालीको प्रभावले देशका विभिन्न भूभागमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने जोखिम छ।
प्रदेशगत विवरणअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। ती प्रदेशका थोरै स्थानमा भने भारी वर्षा र हिमपात हुने पूर्वानुमान छ। यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा हुने तथा ती प्रदेशका हिमाली र पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाले उल्लेख गरेको छ।
मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार नेपालबाट करिब दुई हजार किलोमिटर टाढा रहेको यो प्रणाली यहाँ आइपुग्दासम्म धेरै कमजोर भइसक्ने भएकाले भारतमा जस्तो विनाशकारी हावाहुरी चल्ने सम्भावना छैन। यद्यपि, आज बेलुकीदेखि सुरु हुने वर्षा भोलि थप तीव्र हुने उहाँले जानकारी दिनुभएको छ।
प्रतिकूल मौसमलाई मध्यनजर गर्दै मौसमविद्हरूले शनिबारसम्म धान नकाट्न किसानहरूलाई आग्रह गरेका छन्। साथै, उच्च हिमाली भूभागमा नजान, सुरक्षित स्थानमा रहन र अत्यावश्यक बाहेक यात्रा नगर्न सर्वसाधारणलाई सुझाव दिइएको छ।


प्रतिक्रिया दिनुहोस्