Chauthoanga
२०८३ मंसिर २ , मंगलबार

बंगलाचुली गाउँपालिकाले यस वर्ष पनि स्थानिय भैलो महोत्सव गर्ने



दाङको बंगलाचुली गाउँपालिकाले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि स्थानिय भैलो महोत्सव गर्ने भएको छ । गाउँपालिकाले स्थानीय मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यही मंसिर ४ गते शुक्रबारका दिन परम्परागत भैलो महोत्सव गर्ने भएको छ। गाउँपालिकाको आयोजनामा वडा नम्बर ५ स्थित पर्यटकीय क्षेत्र बंगलाचुली लेकमा हरिबोधनी एकादशीका दिन महोत्सव सञ्चालन गर्ने भएको हो।

गाउँपालिकाले आज एक सूचना जारी गर्दै महोत्सवमा सहभागी हुन गाउँपालिकाका आठवटै वडाका भैलो समूह, राजनीतिक दल, युवा समूह, सामाजिक संघसंस्था, टोल विकास संस्था, आमा समूह तथा सम्पूर्ण गाउँपालिकावासीलाई आग्रह गरेको छ।महोत्सवमा आठवटै वडाका भैलो समूहको सक्रिय सहभागिता रहने गाउँपालिकाले जनाएको छ। सहभागी हुन इच्छुक भैलो समूहले मंसिर ३ गतेभित्र आफ्नो भैलो समूह दर्ता गराउनुपर्ने सूचनामा उल्लेख छ। भैलो समूह दर्ता तथा महोत्सवसम्बन्धी थप जानकारीका लागि वडा नम्बर ५ का वडाध्यक्ष एवं भैलो महोत्सव आयोजक समितिका संयोजक लिला बहादुर घर्ती लाई ९८४४९२८२५० मा फोनगरी सम्पर्क गर्न गाउँपालिकाले अनुरोध गरेको छ। यस वर्षको महोत्सवमा पनि गाउँपालिकाका सबै वडाका भैलो समूहलाई सहभागी गराएर भैलो प्रस्तुती राख्न लगाउने बताएको छ । यसैविच गाउँपालिकाले छिमेकी जिल्ला तथा अन्य पालिकाका आम नागरिकलाई समेत भैलो महोत्सव अवलोकनका लागि निमन्त्रणा गरेको छ।
यता स्थानीय मौलिक कला, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाले विगतका वर्षदेखि भैलो महोत्सव आयोजना गर्दै आएको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले बताउनुभयो । उहाँले गाउँपालिकाको यो पहलले परम्परागत भैलो संस्कृतिलाई सार्वजनिक रूपमा चिनाउने, स्थानीय भैलो समूहलाई आफ्नो मौलिक कला प्रस्तुत गर्ने अवसर प्रदान गर्ने तथा नयाँ पुस्तालाई परम्परासँग जोड्ने आधार तयार गरेको बताउनुभयो ।
अध्यक्ष पुनमगरले यसले स्थानीय समुदायमा आफ्नो मौलिक संस्कृति र पहिचानप्रति चासो बढाउन तथा सामूहिक सहभागितामार्फत परम्परालाई जीवन्त राख्न सहयोग पुर्यााएको बताउनुभयो ।महोत्सवमार्फत स्थानीय मौलिक भैलो परम्पराको संरक्षण र पुस्तान्तरणलाई निरन्तरता दिने गाउँपालिकाको अपेक्षा रहेको गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनमगरले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८३ मंसिर २ गते मंगलबार