Chauthoanga
२०८३ कात्तिक १२ , बुधबार

चक्रवात ‘अर्णव’को प्रभाव नेपालको कुन कुन ठाउँमा पर्छ ?



बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावले नेपालका विभिन्न क्षेत्रमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपातको जोखिम बढेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि चक्रवातको प्रभाव देखिन सक्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार शुक्रबार र शनिबार वर्षाको सम्भावना अझ बढ्ने देखिएको छ ।

महाशाखाले बुधबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार चक्रवात भारतको आन्ध्र प्रदेश र विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना छ । यसको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा हुने तथा कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा समेत वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

मौसमविद् बिनु महर्जनका अनुसार चक्रवातको प्रभाव नेपालमा देखिन थालेको छ । स्याटेलाइट तस्बिरअनुसार चक्रवात भारतको आन्ध्र प्रदेश आसपासको सामुद्रिक क्षेत्रमा रहेको र तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गर्ने क्रममा छ । यसका कारण देशका विभिन्न भागमा बादल लाग्ने, मौसम बदली हुने र वर्षा हुन सक्ने उहाँले जानकारी दिनुभयो ।

महर्जनका अनुसार शुक्रबार र शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुन सक्छ । ती प्रदेशका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको उहाँले बताउनु भयो ।

लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम

वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको महाशाखाले जनाएको छ । पश्चिमी वायुको समेत प्रभाव रहने भएकाले कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुन सक्ने सम्भावना छ ।

मौसम प्रतिकूल हुन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा पर्वतारोहण तथा पदयात्राका लागि जाने पर्यटकलाई यात्रा स्थगित गर्न र जोखिमयुक्त क्षेत्रमा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

हिमपात र हिमपहिरोको सम्भावना रहेका क्षेत्रमा मौसमको अवस्था नबुझी यात्रा गर्दा उद्धारमा समेत कठिनाइ हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविद् महर्जनले आग्रह गर्नुभयो ।

नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सम्भावित वर्षालाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सतर्क रहन आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार कात्तिक ११ देखि १५ गतेसम्म नारायणी, बागमती, कमला र कोसी नदीका जलाधार तथा आसपासका क्षेत्रमा उल्लेख्य वर्षा हुन सक्छ । वर्षाका कारण नदी तथा खोलामा जल सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ ।

नदीको बहाव बढ्न सक्ने समयमा खोला किनारमा जाने, माछा मार्ने, नदी तर्ने तथा जोखिमयुक्त क्षेत्रमा आवतजावत गर्ने कार्य नगर्न सुझाव दिइएको छ ।

धानबाली सुरक्षित राख्न किसानलाई आग्रह

चक्रवातको सम्भावित प्रभाव कृषि क्षेत्रमा समेत पर्न सक्ने भएकाले किसानलाई धानबाली सुरक्षित राख्न आग्रह गरिएको छ । धान भित्र्याउने समयमा वर्षा भए खेतमा पाकेको धान तथा काटेर सुकाउन राखिएको बालीमा क्षति पुग्न सक्ने जोखिम छ ।

महाशाखाले सम्भव भएसम्म बिहीबारअघि नै धानबाली भित्र्याउन तथा कृषि कार्य गर्नुअघि मौसमको पछिल्लो अवस्था बुझ्न अनुरोध गरेको छ । काटिसकेको धान सुरक्षित स्थानमा राख्न र भित्र्याउन बाँकी बालीको व्यवस्थापनमा ध्यान दिन किसानलाई सुझाव दिइएको छ ।

त्यसैगरी वर्षा र हिमपातका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले यात्रामा निस्कनुअघि मौसमको अवस्था बुझ्न आवश्यक रहेको महाशाखाले जनाएको छ । पहिरोको जोखिम भएका सडक खण्डमा यात्रा गर्दा सावधानी अपनाउन र सम्बन्धित निकायले जारी गरेका निर्देशन पालना गर्नसमेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १२ गते बुधबार