Chauthoanga
२०८३ मंसिर २ , मंगलबार

बंगलाचुली गाउँपालिका–४ मा वडास्तरीय परम्परागत भैलो कार्यक्रम सम्पन्न



दाङको बंगलाचुली गाउँपालिका–४ मा वडास्तरीय परम्परागत भैलो कार्यक्रम सम्पन्न भएको छ। स्थानीय मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले भैलो कार्यक्रम गरिएको वडा अध्यक्ष डाँस बहादुर डाँगीले जानकारी दिनुभयो । भैलो कार्यक्रममा वडाभित्रका छ वटा भैलो समूहको सहभागिता रहेको थियो।

वडा नम्बर ४ का अध्यक्ष डाँसबहादुर डाँगीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको प्रमुख आतिथ्यतामा भैलो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीको विशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रममा सहभागी प्रत्येक भैलो समूहलाई यातायात खर्चबापत १५ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइएको छ। कार्यक्रममा वागीटोल भैलो समूह, तल्लोतापा भैलो समूह, कृषक भैलो समूह, सिमेभुमे भैलो समूह, शिवपार्वती भैलो समूह र साखुलाचौर भैलो समूहका सहभागी भएका थिए।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल, वरिष्ठ लेखा अधिकृत नारायणप्रसाद आचार्य, प्रशासकीय अधिकृत नुमाकान्त कालाथोकी, वडा नम्बर २ का अध्यक्ष मैते पुनमगर र वडा नम्बर ६ का अध्यक्ष डोमबहादुर केसीलगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८३ मंसिर २ गते मंगलबार