Chauthoanga
२०८३ असोज १६ , शुक्रबार

दशैंसम्म नेपालबाट मनसुन बाहिरिने सम्भावना



नेपालबाट यस वर्षको मनसुन दशैंसम्ममा बाहिरिने सम्भावना देखिएको मौसमविद्हरूले जानकारी दिएका छन्। मौसम विज्ञान विभागका मौसमविद्हरूका अनुसार हाल नेपालमा ठूलो वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाले मनसुन बाहिरिने क्रम सुरु हुने संकेत देखिएको हो।

मौसमविद् बिनु महर्जनका अनुसार छिमेकी मुलुक भारतका अधिकांश भूभागबाट मनसुन बाहिरिसकेको छ। नेपालमा पनि पश्चिमी भूभागबाट मनसुन बाहिरिने प्रक्रिया सुरु हुने अवस्था देखिएको उहाँले जानकारी दिनुभयो। अहिलेसम्मका मौसमी संकेतलाई आधार मान्दा दशैंसम्ममा नेपालबाट मनसुन बाहिरिन सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो।

यस वर्ष नेपालमा मनसुन गत असार ५ गते पूर्वी नेपालबाट प्रवेश गरेको थियो। सामान्यतया नेपालमा जुन १३ देखि मनसुन सुरु भई अक्टोबर २ आसपास बाहिरिने गर्छ। यद्यपि मनसुनको प्रवेश र बहिर्गमनको औसत मितिमा वर्षअनुसार केही दिन तलमाथि हुने गरेको मौसमविद्हरूले जानकारी दिएका छन्।

यस वर्ष दशैंको घटस्थापना असोज २५ गते र टीका कात्तिक ४ गते परेको छ। त्यसैले मौसमविद्हरूले दशैंको समयमा मनसुनको प्रभाव पूर्णरूपमा समाप्त हुने वा कमजोर हुने अवस्था देखिएको जानकारी दिएका छन्।

तर मनसुन बाहिरिएपछि पनि नेपालका विभिन्न स्थानमा सामान्य प्रकृतिको वर्षा हुनसक्ने सम्भावना भने रहने मौसमविद्हरूले बताएका छन्। मौसमविद् विनोद पोखरेलले समेत दशैंका समयमा कतिपय स्थानमा सिमसिमे पानी पर्न सक्ने र त्यसका कारण चिसो महसुस हुनसक्ने सम्भावना रहेको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ।

मौसमविद्हरूका अनुसार मनसुन बाहिरिन थालेसँगै वर्षाको मात्रा क्रमशः घट्दै जाने भए पनि स्थानीय मौसमी प्रणालीका कारण केही स्थानमा हल्का तथा क्षणिक वर्षा हुनसक्ने भएकाले मौसमको अवस्था हेरेर यात्रा तथा अन्य गतिविधि सञ्चालन गर्न उपयुक्त हुने जानकारी दिइएको छ।

प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रबार