Chauthoanga
२०८३ साउन ५ , मंगलबार

विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना



हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशभर अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

मङ्गलबार रातिसमेत देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थान, मधेश प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

वर्षासँगै पहाडी क्षेत्रमा भूक्षय, बाढी, पहिरो तथा नदी–नालामा पानीको बहाव बढ्न सक्ने भएकाले सर्वसाधारणलाई मौसमसम्बन्धी अद्यावधिक सूचना पछ्याउँदै सुरक्षित रहन विभागले अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८३ साउन ५ गते मंगलबार