Chauthoanga
२०८३ कात्तिक २९ , शनिबार

बंगलाचुलीमा वडा स्तरीय सोरठी भैलो नाच कार्यक्रम सम्पन्न



दाङको बंगलाचुली गाउँपालिका–३ मा वडा स्तरीय सोरठी भैलो नाच कार्यक्रम सम्पन्न भएको छ। स्थानीय मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयको आयोजनामा भैलोनाच कार्यक्रम गरिएको हो।

कार्यक्रममा लेखतापा भैलो समूह, दाङबाङ भैलो समूह, साखुलाचौर भैलो समूह र श्रीवारी भैलो समूहको सहभागिता रहेको थियो। सहभागी समूहहरूले परम्परागत सोरठी भैलो नाच प्रस्तुत गरेका थिए।नेपाली समाजमा पुस्तौँदेखि प्रचलनमा रहेका मौलिक लोकसंस्कृति र परम्परागत नाचगान विस्तारै ओझेलमा पर्दै जान थालेको अवस्थामा तिनको संरक्षणका लागि वडा कार्यालयले पनि योगदान दिनका लागि भैलो कार्यक्रम आयोजना गरेको वडा अध्यक्ष शोभाराज विश्वकर्माले जानकारी दिनुभयो ।

उहाले स्थानीय कला तथा संस्कृतिको संरक्षण, पुस्तान्तरण र प्रवर्द्धन गर्ने उद्देश्यले वडा स्तरीय सोरठी भैलो नाच कार्यक्रम आयोजना गरिएको बताउनुभयो। अध्यक्ष विश्वकर्माका अनुसार स्थानीयस्तरमा प्रचलनमा रहेका मौलिक सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन र नयाँ पुस्तालाई आफ्नो संस्कृति तथा परम्परासँग जोड्न यस्ता कार्यक्रमले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी भएका चारवटै भैलो समूहलाई वडा कार्यालयको तर्फबाट प्रोत्साहनस्वरूप यातायात खार्च प्रदान गरिएको छ। वडा कार्यालयले प्रत्येक सहभागी भैलो समूहलाई १० हजार रुपैयाँका दरले यातायात खर्च उपलब्ध गराएको हो। यसैगरी, वडा अध्यक्ष विश्वकर्माले आफ्नो तर्फबाट प्रत्येक समूहलाई यातायात खर्चबापत थप तीन हजार पाँच सय रुपैयाँ उपलब्ध गराउनुभएको छ।

यसैविच तिहारको पन्चमिको अवसरमा गाउँपालिकाको केन्द्र रहेको कमिरेचौर वजारमा समेत आज पन्चमीमेला लागेको छ । परापुर्वककाल देखि तिहारको पन्चमिको दिन यो मेला लाग्ने गरेको छ । मेला भर्नकालागि सयौँको संख्यामा स्थानियहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८३ कात्तिक २९ गते शनिबार