Chauthoanga
२०८३ मंसिर २ , मंगलबार

(आईएनएफ) को ७४औँ दिवसका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम



इन्टरनेसनल नेपाल फेलोसिप (आईएनएफ) को ७४औँ दिवसका अवसरमा दाङको बंगलाचुली गाउँपालिकामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। परियोजना अधिकृत कृष्णबहादुर वलीको अध्यक्षता तथा बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनमगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा परियोजना अधिकृत वलीले आईएनएफ नेपालको परिचय, उद्देश्य, कार्यक्षेत्र तथा संस्थाले सञ्चालन गर्दै आएका गतिविधिसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि तुल्सीराम पुनमगरले सामाजिक विकास र समुदायको जीवनस्तर सुधारका लागि सरकारी तथा गैरसरकारी संस्थाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखेर सञ्चालन गरिने सामाजिक कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने धारणा राख्नुभयो। साथै, सामाजिक उत्तरदायित्वसहित समुदायको हितमा काम गर्ने संस्थाहरूको योगदान महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो।

आईएनएफले आफ्नो स्थापनाकालदेखि नै नेपालमा स्वास्थ्य, सामाजिक विकास तथा समुदायको सेवाका क्षेत्रमा काम गर्दै आएको छ। विशेषगरी स्वास्थ्य सेवाको पहुँच विस्तार, विपन्न तथा जोखिममा रहेका समुदायलाई सहयोग, स्वास्थ्य सचेतना र समुदायको क्षमता अभिवृद्धिजस्ता क्षेत्रमा संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाका यस्ता गतिविधिले स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई सहयोग पुर्याषउनुका साथै सामाजिक विकासका प्रयासमा समेत योगदान दिँदै आएको छ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, समाज विकास सञ्जाल बंगलाचुलीका व्यवस्थापक बासुदेव भण्डारी, सिटिजन्स बैंक बंगलाचुली शाखाका प्रमुख सन्तोषकुमार श्रेष्ठ ,छिमेक लघुवित्त वित्तीय संस्था बंगलाचुलीका शाखा प्रबन्धक सन्तोष नेपालीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

वक्ताहरूले सामाजिक संस्था, स्थानीय सरकार, वित्तीय संस्था तथा समुदायबीचको सहकार्यले स्थानीय विकासका गतिविधिलाई प्रभावकारी बनाउन सक्ने धारणा राख्नुभएको थियो।

कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। आईएनएफको ७४औँ दिवसका अवसरमा आयोजित कार्यक्रम संस्थाको कार्यसम्पादन, सामाजिक योगदान र आगामी दिनमा समुदायसँगको सहकार्यका विषयमा जानकारी तथा शुभकामना आदानप्रदान गर्दै सम्पन्न भएको हो।

प्रकाशित मिति : २०८३ मंसिर २ गते मंगलबार