Chauthoanga
२०८३ कात्तिक ६ , बिहीबार

आगामी मङ्गलबारदेखि वर्षा हुने, यात्रा तथा भेटघाटमा सतर्कता अपनाउन मौसमविद्‌को सुझाव



आगामी मङ्गलबारदेखि नेपालका धेरैजसो भू-भागमा एक साताभन्दा बढी समयसम्म वर्षा हुने सम्भावना देखिएको छ। मङ्गलबारदेखि बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण मौसममा फेरबदल भई देशका विभिन्न भागमा पानी पर्ने अनुमान गरिएको हो।

मौसमविद् विनोद पराजुलीका अनुसार हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडलहरूले आगामी साता देशका धेरै स्थानमा मध्यमदेखि केही स्थानमा भारी वर्षासम्म हुन सक्ने संकेत गरेका छन्। वर्षाको सम्भावनालाई मध्यनजर गर्दै दशैँको टीका, यात्रा र भेटघाटको तालिका बनाउँदा पूर्वतयारी र सतर्कता अपनाउन उनले सुझाव दिएका छन्।

चारवटा मौसम पूर्वानुमान मोडलको औसत स्थिति (एभरेज पिक्चर) विश्लेषण गर्दै मौसमविद् पराजुलीले मङ्गलबारपछि मौसमी गतिविधि बढ्ने बताएका हुन्। यद्यपि, फरक-फरक मोडलहरूले वर्षा हुने सटीक स्थान र परिमाणका विषयमा केही भिन्न संकेत देखाएकाले अहिल्यै कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने यकिन तथ्यांक भने आइसकेको छैन।

विभाग र मौसमविद्हरूले जलवाष्पयुक्त हावाको प्रभाव कसरी विकसित हुन्छ भन्ने विषयलाई निरन्तर अनुगमन गरिरहेका छन्। यात्रा तथा चाडपर्वका योजना बनाउँदा अद्यावधिक मौसम सूचना हेरेर मात्र अघि बढ्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक ६ गते बिहीबार