Chauthoanga
२०८३ कात्तिक ३० , आइतबार

पेट्रोल छर्केर आगो लगाइएका चौधरीको उपचारका क्रममा मृत्यु



दाङको राजपुर गाउँपालिकामा पेट्रोल छर्केर आगो लगाइएका ४९ वर्षीय रुपलाल चौधरीको उपचारका क्रममा मृत्यु भएको छ। राजपुर गाउँपालिका–२ खालगैरामा शनिबार आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर चौधरीको शरीरमा छर्की आगो लगाएको आरोपमा प्रहरीले सोही ठाउँका ३८ वर्षीय त्रिलोक सिंह कार्कीलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसार चौधरीको आइतबार बिहान नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। आगलागीबाट उनको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो।

प्रहरीका अनुसार शनिबार दिउँसो करिब २ बजेर २० मिनेटमा राजपुर गाउँपालिका–२ खालगैरामा उक्त घटना भएको थियो। सोही ठाउँका त्रिलोक सिंह कार्कीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर चौधरीको शरीरमा छर्किएका थिए। त्यसपछि उनले आगो लगाएको प्रहरीले जनाएको छ।

आगोले जलेर गम्भीर घाइते भएका चौधरीलाई घटनापछि तत्काल उपचारका लागि लमही अस्पताल पुर्‍याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल रिफर गरिएको थियो। तर, शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेका चौधरीको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना गराएपछि फरार भएका कार्कीलाई प्रहरीले खोजतलास गर्ने क्रममा लमही नगरपालिका–५ रातोडाँडाबाट नियन्त्रणमा लिएको थियो।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

पेट्रोल छर्केर आगो लगाइएको घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८३ कात्तिक ३० गते आइतबार