नेपाली कांग्रेसको १५औँ महाधिवेशन निर्धारित मितिभन्दा केही दिन पछि सर्ने भएको छ। कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको थियो।
कांग्रेसका एक शीर्ष पदाधिकारीका अनुसार पछिल्लो समय आएको बाढी–पहिरोका कारण देशका विभिन्न ठाउँमा सडक तथा यातायात अवरुद्ध हुनुका साथै महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं आउन समस्या भएकाले मिति सार्ने तयारी गरिएको हो।
ती पदाधिकारीले बाढी–पहिरोबाट प्रभावित क्षेत्रको अवस्था र प्रतिनिधिहरूको आवागमनमा देखिएको कठिनाइलाई ध्यानमा राखेर महाधिवेशन केही दिन पछि सार्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार महाधिवेशन पाँचदेखि छ दिनभन्दा बढी नलम्ब्याउने गरी तयारी भइरहेको छ।
कांग्रेसभित्र अहिले महाधिवेशन असोज १९ गतेदेखि सुरु गर्ने कि असोज २१ गतेदेखि गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। यद्यपि नयाँ मितिबारे औपचारिक निर्णय भने हुन बाँकी रहेको जनाइएको छ।
बाढी–पहिरोका कारण सडक, पुल तथा यातायातका संरचनामा क्षति पुगेको र कतिपय जिल्लाबाट काठमाडौं आउने बाटो अवरुद्ध रहेको अवस्थामा महाधिवेशन प्रतिनिधिहरूको सहज आवागमनलाई प्राथमिकतामा राखेर मिति समायोजन गर्न लागिएको कांग्रेस नेताहरूले जानकारी दिएका छन्।
यसैबीच, कांग्रेसमा १५औँ महाधिवेशनको मिति र तयारीलाई लिएर आन्तरिक विवादसमेत जारी छ। संस्थापन पक्षले निर्धारित कार्यतालिकाअनुसार देशभर वडा तथा क्षेत्रीय अधिवेशन अघि बढाइरहेको छ भने निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले छुट्टै तयारी गरिरहेको छ।
देउवा पक्षले आगामी असोज १५ गते वडा अधिवेशन गर्ने तयारी गरेको छ। त्यसैगरी, उक्त समूहले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा आफूहरू रहेको बताउँदै आएको छ।
यसरी कांग्रेसको १५औँ महाधिवेशनको नयाँ मिति, जारी अधिवेशन प्रक्रिया र पार्टीभित्र देखिएको मतभेदका कारण महाधिवेशनसम्बन्धी कार्यतालिका थप प्रभावित हुने देखिएको छ। नयाँ मितिबारे कांग्रेस नेतृत्वले गर्ने निर्णयपछि आगामी अधिवेशन प्रक्रिया र महाधिवेशनको औपचारिक कार्यतालिका स्पष्ट हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्