Chauthoanga
२०८३ साउन २८ , बिहीबार

शेरबहादुर देउवा स्वदेश फर्किए



नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब छ महिनापछि शुक्रबार स्वदेश फर्किनुभएको छ। उहाँ मध्यान्ह साढे १२ बजे सिंगापुर एयरलाइन्सको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो।

देउवाको स्वागतका लागि कांग्रेसको संस्थापन इतर समूहका नेता तथा कार्यकर्ताहरू विमानस्थल पुगेका थिए। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा शीर्ष नेताहरू विमानस्थल पुगेका हुन्। उहाँलाई बाजागाजा तथा सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरिएको थियो।

संस्थापन इतर समूहले विमानस्थल प्रवेश गर्ने गोल्डेन गेट, नमस्ते गेट तथा तिलगंगा आँखा अस्पताल अगाडिका खाली स्थानमा कार्यकर्ता भेला गरेको थियो। देउवा विमानस्थलबाट बाहिरिएपछि सांस्कृतिक बाजागाजासहितको झाँकीले स्कर्टिङ गरेर लैजाने तयारी गरिएको थियो।

स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुनुहुनेछ।

जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते हुनुभएका देउवा गत फागुन १३ गते राति थप उपचारका लागि सिंगापुर जानुभएको थियो। सिंगापुरमा उपचारपछि उहाँ थप उपचारका लागि हङकङसमेत पुग्नुभएको थियो। करिब छ महिनापछि स्वदेश फर्किनुभएका देउवाको आगमनलाई कांग्रेसभित्र राजनीतिक रूपमा समेत चासोका साथ हेरिएको छ।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहीबार