दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज २४ गते हुने निर्वाचनका लागि नरेश कुमार श्रेष्ठ नेतृत्वको ‘संयुक्त व्यवसायी प्यानल’ले आफ्नो विस्तृत चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। आज एक कार्यक्रमका बीच प्यानलले ‘सुरक्षित व्यापार, वर्तमानमा सम्मान, भविष्यमा परिणाम’ भन्ने मुख्य नारासहित व्यवसाय प्रवर्द्धन, कर प्रणाली सुधार र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर प्रतिबद्धता सार्वजनिक गरेको हो।
सार्वजनिक प्रतिबद्धता अनुसार साना व्यवसायीलाई बिना धितो ऋण, कृषि तथा पर्यटन उद्योगका लागि सहुलियत ब्याज र अनुदानको पहल गरिने उल्लेख छ। यसैगरी संघ, प्रदेश र स्थानीय तहले लिने कर प्रणालीलाई एकद्वार तथा सहज बनाउने र करदातालाई त्रसित नभई पुरस्कृत गर्ने नीति अघि सारिएको छ। व्यावसायिक सुरक्षाका लागि मुख्य स्थानहरूमा सीसी क्यामरा जडान तथा रात्रि व्यवसाय सुरक्षाको प्रबन्ध मिलाइने प्यानलको योजना छ।
यस्तै, घोराहीमा स्थापित औद्योगिक क्षेत्र तत्काल सञ्चालन, दाङमा नापतौल कार्यालय स्थापना, कोइलाबास नाका व्यवस्थित सञ्चालन र घरभाडा समस्या समाधानका लागि समन्वय गर्ने विषयलाई प्राथमिकता दिइएको छ। ऊर्जा समस्या समाधानका लागि वैकल्पिक स्रोतको खोजी, कृषि उपजको बजारीकरण, फुटपाथ व्यवस्थापन तथा सडक स्तरोन्नतिका विषय पनि समेटिएका छन्।
समग्र व्यावसायिक हकहित, आर्थिक स्थायित्व र संस्थागत सुदृढीकरणका लागि योजनाबद्ध रूपमा अघि बढेको दाबी गर्दै प्यानलले मतदाताहरूसँग अमूल्य मत दिन अपिल गरेको छ। निर्वाचन नजिकिएसँगै जिल्लाको व्यावसायिक क्षेत्रमा चुनावी सरगर्मी तीव्र बनेको छ।







प्रतिक्रिया दिनुहोस्