Chauthoanga
२०८३ भदौ ३१ , बुधबार

प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट



प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि आभार व्यक्त गर्नुभयो । उहाँले रसुवामा आएको बाढीबाट नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताउनुभयो ।

प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण यस्ता विपद्को जोखिम बढिरहेको उल्लेख गर्दै जलवायुजन्य विपद् जोखिम न्यूनीकरण तथा त्यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।

भेटवार्तामा नेपालको पर्यटन क्षेत्रको सम्भावना तथा पर्यटन विकासमार्फत नेपाल र अमेरिकाबीच पारस्परिक लाभ हासिल गर्न सकिने अवसरबारे समेत छलफल भएको थियो । प्रधानमन्त्री शाहले नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्ने बताउनुभयो ।

सो अवसरमा कार्यवाहक राजदूत बोल्डिनले रसुवाको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गर्नुभयो ।

उहाँले विपद्को यस कठिन घडीमा अमेरिकी सरकार नेपाल सरकार र नेपाली जनताको साथमा रहेको जानकारी दिनुभयो । राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर रहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ भदौ ३१ गते बुधबार