Chauthoanga
२०८३ साउन २४ , आइतबार

सरकार बाटोबाट विचलित भए रास्वपाले हस्तक्षेप गर्ने लामिछानेको भनाइ



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र वाचाअनुसार काम गर्न नसके राजनीतिक रूपमा हस्तक्षेप गरी सही मार्गमा ल्याउने क्षमता पार्टीसँग रहेको बताउनुभएको छ।

सरकार अहिले नै असफल नभएको उल्लेख गर्दै लामिछानेले सरकार आफ्नो लिकबाट बाहिरिए आवश्यकताअनुसार सच्याउने दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ। काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने राजनीतिक पार्टी हामीसँग छ।”

सरकार गठन भएको चार महिना मात्र भएकाले अहिले नै पूर्ण मूल्याङ्कन गर्ने समय नभए पनि यस अवधिमा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट सङ्केत देखिनुपर्ने उहाँको भनाइ थियो। नागरिकका सुझाव र गुनासालाई पार्टीले नजिकबाट सुनिरहेको पनि उहाँले बताउनुभयो।

सरकार सञ्चालनमा देखिन सक्ने अवरोधलाई हवाई उडानको ‘टर्बुलेन्स’सँग तुलना गर्दै लामिछानेले त्यसबाट नआत्तिन आम नागरिकलाई आग्रह गर्नुभयो। उहाँले सरकारलाई सही ढङ्गले गन्तव्यमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

रास्वपामा परिवर्तनका लागि सक्रिय युवा तथा गैरराजनीतिक पृष्ठभूमिका विज्ञ र पेशेवरहरूको समूह रहेको दाबी गर्दै उहाँले असहज परिस्थितिलाई सम्हाल्न सक्ने राजनीतिक अभिभावकत्व पार्टीसँग रहेको बताउनुभयो। सरकार नागरिककै भएको उल्लेख गर्दै लामिछानेले जनतासँगको सहकार्यमा यसको जिम्मेवारी सफल बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

प्रकाशित मिति : २०८३ साउन २४ गते आइतबार