कपिलवस्तु नगरपालिकाका पूर्वनगर प्रमुख किरण सिंह मृत अवस्थामा फेला पर्नुभएको छ। गत शुक्रबारदेखि बेपत्ता ६५ वर्षीय सिंहको शव आइतबार कपिलवस्तुको जङ्गल क्षेत्रमा उहाँले प्रयोग गर्दै आउनुभएको मोटरसाइकल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर भट्टका अनुसार प्रहरी, आफन्त र स्थानीयसहितको टोलीले खोजी गर्ने क्रममा मोटरसाइकल रोकिराखेको स्थान नजिकै सिंहको शव फेला पारेको हो। उहाँले प्रयोग गर्ने लु.प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल भने शनिबार नै जङ्गल क्षेत्रमा फेला परेको थियो।
सिंह कपिलवस्तु नगरपालिका–३ स्थित आफ्नै घरबाट शुक्रबार दिउँसो करिब २ बजे निस्किनुभएको थियो। चेतदराईस्थित सनसाइन सामाजिक विकास केन्द्रमा रहेको सिसिटिभी फुटेजमा उहाँ दिउँसो ३ः२७ बजे रामराज पुलतर्फ गएको देखिएको प्रहरीले जनाएको छ।
रामराज पुल पुगेपछि सिंहले आफूनिकट व्यक्तिलाई मोबाइलमार्फत आफू जङ्गलमा बाटो बिराएको जानकारी गराउनुभएको थियो। त्यसपछि आफन्त तथा स्थानीयले खोजी सुरु गरेका थिए।
पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जङ्गल क्षेत्रमा मोटरसाइकल फेला परेपछि प्रहरीले खोजीलाई तीव्रता दिएको थियो। शव फेला परेको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टले बताउनुभएको छ।







प्रतिक्रिया दिनुहोस्