दाङ,_अविरल वर्षाका कारण पहिरो खस्दा राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ। राजमार्गको खारखोला–टुनिबोट क्षेत्रमा शनिबार दिउँसो करिब ३ बजे खसेको पहिरो निरन्तरको वर्षाका कारण पन्छाउन नसकिएपछि यातायात सेवा ठप्प बनेको हो। जिल्ला प्रशासन कार्यालय सल्यानको सूचना उद्धृत गर्दै सडक डिभिजन कार्यालय दाङले आइतबार दिनभर सवारी आवागमनमा पूर्ण रोक लगाइएको जनाएको छ।
सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्र विष्टका अनुसार निरन्तरको झरीका कारण तत्काल अवरोध हटाउन कठिनाइ भइरहेको छ। मौसम अनुकूल हुनासाथ पहिरो पन्छाएर अत्यावश्यक सवारी साधन सञ्चालन गर्ने तयारी प्रशासनले गरेको छ।
राप्ती राजमार्ग बन्द हुँदा सल्यान, रुकुम लगायतका पहाडी जिल्लाको सीधा यातायात सम्पर्क टुटेको छ भने दाङ तथा आसपासका अन्य मुख्य सडक सञ्जालमा समेत जोखिम बढेको छ। तुलनात्मक रूपमा सुरक्षित मानिने शहिदमार्गको लमही–घोराही सडक खण्डमा हाल सवारी साधन सुचारु रहे पनि थप वर्षा भएमा जोखिम बढ्न सक्ने डिभिजन प्रमुख विष्टले दिनुभएको छ।
यसैगरी, पूर्व–पश्चिम (महेन्द्र) राजमार्गअन्तर्गत धानखोलादेखि शिवखोलासम्मको खण्डमा सवारी साधन चलिरहेका छन्। यद्यपि, धानखोला क्षेत्र तथा रिहार–अमिलिया सडक खण्डमा पहिरो र कटानको सम्भावना कायमै छ। राप्ती राजमार्गकै अमिलिया–तुलसीपुर खण्डमा आवागमन चालू रहे पनि केही स्थानमा सतर्कता अपनाउनुपर्ने अवस्था छ।
उता तुलसीपुर–कालिमाटी–काल्चे सडकअन्तर्गत राजीखहरे, सेती र डिमुरे खोला तथा जलुके लगायतका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढेको छ। वर्षा जारी रहेकाले अत्यन्त जरुरी कामबाहेक यात्रा नगर्न र यात्रा गर्दा सतर्कता अपनाउन सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ।




प्रतिक्रिया दिनुहोस्