Chauthoanga
२०८३ असोज ४ , आइतबार

त्रिविको दीक्षान्त समारोह पहिलोपटक प्रदेशगत रूपमा, सातै प्रदेशमा केन्द्र तोकियो



त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले पहिलोपटक प्रदेशगत रूपमा दीक्षान्त समारोह आयोजना गरी विद्यार्थी दीक्षित गर्ने भएको छ। त्रिवि कार्यकारी परिषद्ले सातवटै प्रदेशमा दीक्षान्त समारोह सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षा नियन्त्रण कार्यालयले प्रक्रिया अघि बढाउँदै विद्यार्थीबाट अनलाइन आवेदन माग गरेको छ।

त्रिविका प्रवक्ता नविन्द्र भण्डारीले प्रदेशस्तरमा दीक्षान्त कार्यक्रम गर्ने निर्णय कार्यकारी परिषद्बाट भएको र सोहीअनुसार विद्यार्थीबाट आवेदन माग गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार विद्यार्थीले आवेदन दिँदा आफूलाई पायक पर्ने प्रदेशको दीक्षान्त केन्द्र छनोट गर्न सक्नेछन् र छनोट गरिएको केन्द्रमै आयोजना हुने समारोहमा सहभागी हुन पाउनेछन्।

त्रिविले बागमती, कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी सातवटै प्रदेशमा दीक्षान्त केन्द्र तोकेको छ। तर, एमफिल, विद्यावारिधि (पीएचडी) तथा सर्वोत्कृष्ट अर्थात् गोल्ड मेडल प्राप्त गर्ने विद्यार्थीका लागि भने बागमती प्रदेशलाई केन्द्र तोकिएको छ। अन्य विद्यार्थीले आफूलाई पायक पर्ने प्रदेशको केन्द्र छनोट गर्न सक्ने व्यवस्था गरिएको छ।

यसअघि त्रिविको दीक्षान्त समारोह काठमाडौंमा मात्रै आयोजना हुँदै आएको थियो। देशभरका विद्यार्थी काठमाडौंमा उपस्थित हुनुपर्ने भएकाले प्रदेश बाहिर रहेका विद्यार्थीलाई आवतजावत तथा अन्य व्यवस्थापनमा कठिनाइ हुँदै आएको थियो। त्रिविबाट प्रत्येक वर्ष स्नातकदेखि विद्यावारिधिसम्म करिब ८० हजार विद्यार्थीले अध्ययन पूरा गर्ने गरेका छन्। तीमध्ये करिब २० हजार विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुँदै आएका छन्।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार ५२औँ दीक्षान्त समारोहमा सहभागी हुन २०८२ साल असार १ गतेदेखि २०८३ साल जेठ ३१ गतेसम्म सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअन्तर्गत स्नातक, स्नातकोत्तर र एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थी योग्य हुनेछन्। सोही अवधिभित्र विद्यावारिधि तह पूरा गरेका विद्यार्थी पनि सहभागी हुन योग्य हुने कार्यालयले जनाएको छ।

इच्छुक विद्यार्थीले त्रिवि परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिनुपर्नेछ। आवेदन दिने अन्तिम म्याद आगामी कात्तिक १२ गतेसम्म रहेको परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले बताउनुभयो।

तर, यस वर्ष दीक्षान्त समारोहको प्रक्रिया अघि बढाउँदा त्रिविको ग्रेस लिस्ट भने अझै पारित हुन सकेको छैन। पुस मसान्तसम्म दीक्षान्त कार्यक्रम सम्पन्न गरिसक्नुपर्ने व्यवस्था भए पनि त्रिवि सभाले पूर्णता नपाएका कारण दीक्षित हुने विद्यार्थीको विवरण सभाबाट अनुमोदन हुन नसकेको हो।

गत वैशाखमा उपकुलपतिसहित सभाका सदस्यलाई सरकारले अध्यादेशमार्फत पदमुक्त गरेको थियो। त्यसपछि उपकुलपति, रेक्टर र रजिस्ट्रार नियुक्त भए पनि सभाका सदस्य मनोनयन हुन नसक्दा त्रिविको चालु आर्थिक वर्षको बजेटसमेत असोजको पहिलो सातासम्म पारित हुन सकेको थिएन। यही कारण दीक्षित हुने विद्यार्थीको ग्रेस लिस्ट पारित गर्ने प्रक्रिया पनि प्रभावित भएको हो।

ग्रेस लिस्ट पारित नभएकै अवस्थामा परीक्षा नियन्त्रण कार्यालयले ५२औँ दीक्षान्त समारोहमा सहभागी हुन योग्य विद्यार्थीका लागि आवेदन खुला गरेको हो। अघिल्ला वर्षमा ग्रेस लिस्टमा समावेश विद्यार्थीबाट आवेदन माग गर्ने अभ्यास थियो।

प्रदेशगत रूपमा दीक्षान्त समारोह आयोजना गर्ने निर्णयसँगै यसको व्यवस्थापन र खर्चबारे पनि प्रश्न उठेको छ। त्रिविको दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा कुलपतिसहित ५२ जना सभा सदस्यको उपस्थितिमा विद्यार्थी दीक्षित हुने गरेका छन्। प्रत्येक प्रदेशमा कुलपतिसहित सभा सदस्यको उपस्थिति सुनिश्चित गर्न कठिन हुने प्राध्यापकहरूले बताउँदै आएका छन्।

उनीहरूले मूल दीक्षान्त समारोह काठमाडौंमै आयोजना गरी अन्य प्रदेशमा छुट्टै दीक्षान्त कार्यक्रममार्फत प्रमाणपत्र वितरण गर्ने व्यवस्था उपयुक्त हुन सक्ने सुझाव दिएका छन्। यसले प्रदेशगत पहुँच विस्तार गर्ने उद्देश्य पूरा गर्नुका साथै समारोह व्यवस्थापनलाई पनि सहज बनाउन सक्ने उनीहरूको भनाइ छ।

यसैबीच, त्रिविले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि तहअनुसार शुल्क निर्धारण गरेको छ। स्नातक तहका लागि दीक्षान्त तथा प्रमाणपत्र शुल्क ३ हजार रुपैयाँ, स्नातकोत्तर तथा एमफिलका लागि ३ हजार ५ सय रुपैयाँ र विद्यावारिधिका लागि ४ हजार रुपैयाँ तोकिएको छ।

विद्यार्थीले गाउन तथा स्कार्फ लिन २ हजार ५ सय रुपैयाँ धरौटी राख्नुपर्नेछ। गाउन र स्कार्फ फिर्ता गरेपछि ५ सय रुपैयाँ मर्मतसम्भार शुल्क कट्टा गरी बाँकी धरौटी रकम आवेदकको बैंक खातामा फिर्ता गरिने कार्यालयले जनाएको छ।

समारोहमा विद्यार्थीले बढीमा दुई जना अभिभावक सहभागी गराउन सक्नेछन्। प्रत्येक अभिभावकका लागि ४ सय रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै, त्रिविको लोगो अंकित प्रमाणपत्र राख्ने फोल्डर लिन चाहने विद्यार्थीले थप ५ सय रुपैयाँ बुझाउनुपर्नेछ।

आवेदन शुल्क नेपाल बैंक लिमिटेड वा ग्लोबल आईएमई बैंकको अनलाइन बैंकिङमार्फत मात्र बुझाउन सकिने व्यवस्था गरिएको छ। आवेदनका क्रममा सेतो पृष्ठभूमिको एमआरपी साइजको फोटो, नागरिकताको प्रमाणपत्रको स्क्यान कपी र ट्रान्सक्रिप्टको स्क्यान कपी अनिवार्य रूपमा अपलोड गर्नुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतबार