Chauthoanga
२०८३ साउन २८ , बिहीबार

प्यूठानको माडी खोलामा पाँच शव फेला



प्यूठानको स्वर्गद्वारी नगरपालिका–९, जुडापाटस्थित माडी खोलाको किनारमा आज पाँच वटा शव फेला परेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा ती शव रोल्पाको थबाङ गाउँपालिका–५, बोटलबारा क्षेत्रमा गएराति पहिरोमा परी बेपत्ता भएकाहरूको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी नरहरि अधिकारीले माडी खोलाको किनारमा पाँच वटा शव फेला परेको पुष्टि गर्नुभयो। उहाँका अनुसार प्यूठानमा मानिस हराएको वा पहिरोमा परेको कुनै घटना नभएकाले माथिल्लो क्षेत्र रोल्पाबाट बाढीले शव बगाएर प्यूठानसम्म ल्याएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

डीएसपी अधिकारीका अनुसार फेला परेका शवका तस्वीर रोल्पा प्रहरीलाई पठाइएको छ। तस्वीरका आधारमा शवको पहिचान हुन सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो। शवको पहिचान तथा घटनाको वास्तविक अवस्था पत्ता लगाउन प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

यस्तै, जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले पनि रोल्पाको पहिरोमा बेपत्ता भएकाहरूका शव प्यूठानमा भेटिएको हुन सक्ने सम्भावना रहेको बताउनुभयो।

उहाँका अनुसार रोल्पाको लुंगी खोला माडी खोलामा मिसिने भएकाले पहिरो तथा बाढीका कारण मानिस र शव बगाएर प्यूठानसम्म ल्याएको हुन सक्ने देखिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो।

रोल्पाको थबाङ गाउँपालिका–५, बोटलबारा क्षेत्रमा पहिरोले घर तथा गोठ पुरिँदा तीन जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उक्त घटनामा नौ जना बेपत्ता रहेको बताइएको छ।

प्यूठानमा फेला परेका पाँच शव रोल्पाको घटनामा बेपत्ता भएका नौ जनामध्येका हुन् वा होइनन् भन्ने कुरा भने हालसम्म पुष्टि भएको छैन। प्रहरीले शवको पहिचान, घटनाको प्रकृति र सम्भावित सम्बन्धबारे अनुसन्धान जारी राखेको जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहीबार