Chauthoanga
२०८३ कात्तिक २८ , शुक्रबार

आस्था, निष्ठा र भक्तिको पर्वका रूपमा मनाइने छठ आजदेखि सुरु



दीपावली पर्व सकिएसँगै आजदेखि सुरु भएको छठ पर्वको तयारीले महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ। चार दिनसम्म मनाइने छठ पर्वका लागि स्थानीयवासी नदी, पोखरी तथा जलाशयको सरसफाइ, छठघाट निर्माण र पूजासामग्रीको व्यवस्थापनमा जुटेका छन्।

आस्था, निष्ठा र भक्तिको पर्वका रूपमा मनाइने छठको तयारीसँगै मिथिला क्षेत्रका घरघरमा छठका गीत गुञ्जिन थालेका छन्। सूर्यदेव र षष्ठीदेवी अर्थात् छठीमाताको महिमा गाइने भक्तिगीतले स्थानीय वातावरण छठमय बनेको छ।

पर्वका लागि नदीकिनार र पोखरीमा छठघाट निर्माण तथा सजावटको काम भइरहेको छ। विशेषगरी युवा छठघाट निर्माण र सरसफाइमा सक्रिय छन्। घरका भित्ता लिपपोत तथा रङरोगन गर्ने र सडक, घर तथा सार्वजनिक स्थलमा बत्ती जडान गर्ने काम पनि भइरहेको छ।

छठको तयारीले स्थानीयवासीको दैनिकी नै पर्वकेन्द्रित बनेको बर्दिबास नगरपालिका–१३ बिजलपुरास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताउनुभएको छ।

यसैगरी, मिथिला क्षेत्रका बजारमा छठ पूजाका सामग्री किन्नेको भीड बढेको छ। केराका घरी, उखुका लाँक्रा, अदुवा, बेसारका बोट, मुठा, ज्यामिर र जटासहितका सामग्रीको बिक्री बढ्ने स्थानीय व्यवसायीको अपेक्षा छ। यस्ता सामग्रीको मुख्य बिक्री शनिबार हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले बताउनुभएको छ।

छठका लागि बाँसबाट बनाइने ढकी, डलिया, कोनियाँ, नाङ्लो र पङ्खाका साथै माटाका दियो, छ्याँची, टौला, अङ्खरा र गाग्रीको माग पनि बढेको छ।

घरघरमा ठकुवा र भुसुवालगायत प्रसाद बनाउने चटारो छ। चामल र गहुँको पिठो घरमै ढिकी र जाँतोमा तयार गर्ने परम्परा अझै कायम छ। भङ्गाहा नगरपालिका–४ रामनगरकी ५५ वर्षीया शान्तिदेवी साहले छठको तयारीमा निष्ठा सबैभन्दा महत्त्वपूर्ण हुने बताउनुभएको छ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुन्छ।

छठ पर्वमा जातीय तथा सामुदायिक विभेद नगरी सबैले एउटै घाटमा भेला भएर सूर्यदेवको आराधना गर्ने परम्परा छ। यस पर्वले आपसी सद्भाव र एकताको सन्देश दिने विश्वास गरिन्छ।

प्रकाशित मिति : २०८३ कात्तिक २८ गते शुक्रबार