Chauthoanga
२०८३ साउन २८ , बिहीबार

पहिरोले घर पुरिँदा रोल्पाको थबाङमा दुई जनाको मृत्यु, १० बेपत्ता



रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षापछि खसेको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्। बुधबार राति करिब ८:४० बजे गएको पहिरोमा परी दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा पुरिएर स्थानीय ६० वर्षीय कमलबहादुर पुनमगर र १८ वर्षीया शान्ति पुनमगरको मृत्यु भएको छ। उद्धार टोलीले २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगरलाई घाइते अवस्थामा जीवितै उद्धार गरेको छ। पहिरोले कमलबहादुरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरेको छ।

राति ९:३० बजे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय उवाबाट खटिएको टोलीले स्थानीयको सहयोगमा प्राथमिक उद्धार सुरु गरेको थियो। थप खोजी तथा उद्धारका लागि बिहीबार बिहानै जिल्ला प्रहरी कार्यालयका डीएसपी पञ्चकुमार बाखुको नेतृत्वमा १३ जनाको टोली विपद् उद्धार सामग्रीसहित घटनास्थल पुगेको छ।

साथै, रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसमेत घटनास्थल पुगेर उद्धार कार्यको अनुगमन गरिरहेका छन्। घटनास्थलमा फोन सम्पर्क हुन कठिन भइरहेकाले घटनाको थप विवरण आउन बाँकी रहेको र बेपत्ताहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहीबार