पूर्वी नेपालको सीमावर्ती क्षेत्रमा आज बिहान ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ताप्लेजुङको ओलाङचुङगोला नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो।
केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार भूकम्प गएको क्षेत्र चीनको तिब्बतसँग जोडिएको छ। भूकम्पको धक्का कोशी प्रदेशका केही जिल्लामा समेत महसुस गरिएको छ।
भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भए–नभएको विवरण भने प्राप्त भइसकेको छैन।
यसैबीच, अमेरिकी भूगर्भ सर्वेक्षण अर्थात् यूएसजीएसले भूकम्पको केन्द्रविन्दु भारतको सिक्किम राज्यस्थित मंगन क्षेत्रबाट करिब ६७ किलोमिटर दूरीमा रहेको जनाएको छ।
यूएसजीएसका अनुसार भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराइमा गएको हो। भूकम्पको केन्द्रविन्दु र गहिराइबारे नेपाली र अमेरिकी निकायले सार्वजनिक गरेको विवरणमा भौगोलिक स्थानको उल्लेख फरक रहेको छ।




प्रतिक्रिया दिनुहोस्