Chauthoanga
२०८३ साउन ३ , आइतबार

देशभर भारी वर्षाको सम्भावना, सतर्क रहन सुझाव



देशभर मनसुनको प्रभाव सक्रिय रहेकाले आज अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकाध स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्छ भने कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा अति भारी वर्षाको सम्भावना छ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर र पूर्वतर्फ सरदर स्थान आसपास रहेको छ। अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णालीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले आज दिनभर तथा राति पनि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र नदी कटानको जोखिम बढ्ने चेतावनी दिएको छ। जोखिमयुक्त क्षेत्रका बासिन्दालाई अनावश्यक यात्रा नगर्न, नदी तथा खोल्सामा सतर्कता अपनाउन र स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचना पालना गर्न प्राधिकरणले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ साउन ३ गते आइतबार