Chauthoanga
२०८३ साउन २ , शनिबार

दुई दिन उच्च वर्षाको चेतावनी, २३ जिल्लामा बाढी–पहिरोको उच्च जोखिम



राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार देशका विभिन्न क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणका अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षा हुने अनुमानसँगै २३ जिल्लामा बाढी, पहिरो र डुबानको उच्च जोखिम रहेको छ।

उच्च जोखिममा पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी र स्याङ्जा रहेका छन्। यी जिल्लामा रातिको समयमा सवारी साधन सञ्चालन नगर्न तथा आवश्यक परे आवागमन रोक्नसमेत अनुरोध गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले पनि हिमाली, पहाडी तथा केही तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। प्राधिकरणले अचानक बाढी, पहिरो, नदी कटान, गेग्रान बहाव र सहरी डुबानको जोखिम रहेकाले स्थानीय बासिन्दा तथा सरोकारवालालाई पूर्वतयारीसहित सुरक्षित रहन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ साउन २ गते शनिबार