दाङमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बिहीबार साँझ भएको दुर्घटनामा घोराही उपमहानगरपालिका–२, रामपुरका ४० वर्षीय टोपबहादुर वलीको मृत्यु भएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको थियो। मोटरसाइकल जलेका कारण त्यसको नम्बर पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेमा दाङको बंगलाचुली गाउँपालिका–४ का सुनिल खत्री र रामबहादुर डाँगी रहेका छन्। घाइते दुवै जनाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तीव्र गतिमा रहेको एउटा मोटरसाइकलमा तीन जना सवार थिए। दुर्घटनापछि मोटरसाइकल चालक बंगलाचुली गाउँपालिका–४ का मोहन डाँगी फरार रहेका छन्। फरार चालकको खोजी भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो।






प्रतिक्रिया दिनुहोस्