Chauthoanga
२०८३ कात्तिक ६ , बिहीबार

विजयादशमीको दोस्रो दिन पनि दसैँको टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी



विजयादशमीको दोस्रो दिन आज (बिहीबार) पनि मान्यजन तथा आफन्तको हातबाट दसैँको टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम देशैभर जारी रहेको छ । टीकाको मुख्य दिन (विजयादशमी) मा आफ्नै घरमा टीका लगाएका श्रद्धालुहरू आजदेखि टाढा-टाढा रहेका मान्यजन तथा आफन्तकोमा जाने क्रम सुरु भएको छ।

खासगरी घरबाट टाढा रहेका आफन्त तथा मान्यजनकहाँ विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म पुगेर टीका थाप्ने र आशीर्वाद लिने परम्परा रहँदै आएको छ। जसका कारण आज दोस्रो दिन पनि देशका विभिन्न स्थानमा टीका लगाउन आफन्तजनकहाँ आउ-जाउ गर्ने मानिसहरूको चहलपहल बाक्लो देखिएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार विजयादशमीको टीका नवदुर्गा भवानीको प्रसाद भएकाले विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्न सकिन्छ।

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) देखि सुरु भएको १५ दिन लामो बडादसैँ पर्व कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा-आराधना गरेपछि औपचारिक रूपमा समाप्त हुने गर्दछ।

प्रकाशित मिति : २०८३ कात्तिक ६ गते बिहीबार