Chauthoanga
२०८३ कात्तिक ६ , बिहीबार

सवारी दुर्घटनामा ७ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अर्घाखाँची, काठमाडौँ, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका सडक दुर्घटनामा ३१३ जना घाइते भएका छन् ।
अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।भूमिकास्थान नगरपालिका–२ भूमेकाथानमा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भूमिकास्थान–८ का ६२ वर्षीय देवीराम आचार्य र उहाँका २३ वर्षीय छोरा विवेक आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी दिवस जिसीले जानकारी दिनुभयो ।हिजो दशैँको टीका लगाउन ढाकाबाङ ससुरालीतर्फ गएका बाबुछोराको दुर्घटनामा ज्यान गएको हो ।रातिसम्म पनि सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा आज बिहान सडकबाट तल जंगलमा मोटरसाइकल दुर्घटना भएको र ज्यान गएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उता काठमाडौँको टेकुस्थित अम्बे कम्प्लेक्स नजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा. प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय परमानन्द बैठाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको हो ।

सुनसरीको इटहरी उपमहानगरपालिका–४ हलगडास्थित कोशी लोकमार्गमा को २७ प २०३६ नम्बरको मोटरसाइकलाई प्र १–०२–००१ ख ९९८५ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक इटहरी–८ का ६२ वर्षीय छत्रबहादुर भण्डारीको मृत्यु भएको छ ।

यस्तै, मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा बा प्र ०८¬–००१ ह ०१०५ नंको अटो ‘ब्रेक फेल’ भई दुर्घटना हुँदा ४५ वर्षीय सन्तबहादुर माझीको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडकमा प्र १–०१–२४५ प ६३८० नम्बरको मोटरसाइकलले सोही ठाउँका ७० वर्षीय बलबहादुर विकलाई ठक्कर दिँदा निजको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पृथ्वीराजमार्ग हुँदै तनहुँको डुम्रेबाट दमौलीतर्फ गइरहेको बा १८ च ४५८७ नम्बरको गाडीले व्यास नगरपालिका–१ अम्रेनी भन्ने स्थानमा ठक्कर दिँदा ४० वर्षीय एक पुरुषको मृत्यु भएको छ । निजको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक ६ गते बिहीबार