Chauthoanga
२०८३ साउन २५ , सोमबार

च्याटजीपीटीमा सबै प्रयोगकर्ताका लागि टेक्स्ट च्याटको सीमा हटाउँदै ओपनएआई



ओपनएआईले च्याटजीपीटीका सबै प्रयोगकर्ताका लागि टेक्स्टमा आधारित च्याटमा रहेका सीमाहरू हटाउने घोषणा गरेको छ। च्याटजीपीटीका साप्ताहिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको अवसरमा कम्पनीले यस्तो घोषणा गरेको हो।

कम्पनीका अनुसार अब नि:शुल्क र गो प्रयोगकर्ताका लागि GPT-5.6 Luna डिफल्ट मोडेलका रूपमा उपलब्ध हुनेछ। यसले यसअघिको GPT-5.5 लाई प्रतिस्थापन गर्नेछ। नि:शुल्क प्रयोगकर्ताले जटिल प्रश्न समाधानका लागि थप रिजनिङ पावर प्रयोग गर्न सक्ने नयाँ ‘Think’ बटनसमेत पाउनेछन्। यद्यपि फाइल अपलोड, इमेज, भ्वाइस र इमेज जेनेरेसनमा लागू हुँदै आएका सीमाहरू भने यथावत् रहनेछन्।

यसैगरी, प्लस र प्रो प्रयोगकर्ताका लागि GPT-5.6 Sol मोडेल उपलब्ध गराइएको छ। ओपनएआईले सामान्य प्रश्नोत्तर, वेब रिसर्च, सल्लाह, योजना निर्माण तथा लेखनजस्ता कार्यका लागि यो मोडेललाई अझ छिटो, सटीक र संक्षिप्त बनाइएको जनाएको छ।

प्लस र प्रो प्रयोगकर्ताले ‘Thinking Slider’ सुविधा पनि प्रयोग गर्न सक्नेछन्। यसमार्फत प्रश्नको जटिलताअनुसार एआईले उत्तर तयार गर्दा गर्ने सोचविचारको स्तर प्रयोगकर्ताले आफैं घटाउन वा बढाउन सक्नेछन्।

ओपनएआईको आन्तरिक मूल्याङ्कनअनुसार नयाँ मोडेलमा तथ्यगत त्रुटि अघिल्लो संस्करणको तुलनामा घटेको छ। GPT-5.5 Instant को तुलनामा GPT-5.6 Luna मा तथ्यगत त्रुटि ६२ प्रतिशत र GPT-5.6 Sol मा ६८ प्रतिशतले कम पाइएको कम्पनीको दाबी छ।

यससँगै १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका लागि सुरक्षा उपायसमेत थप कडा बनाइएको छ। कम्पनीले एआईलाई उमेरअनुसार अनुपयुक्त सामग्री, चुनौती तथा रोमान्टिक रोलप्लेजस्ता विषयबाट टाढा राख्न विशेष तालिम दिइएको जनाएको छ।

अपडेट गरिएका सुविधाहरू चरणबद्ध रूपमा उपलब्ध गराउन थालिएको छ। कम्पनीका अनुसार यसै सातादेखि सबै प्रयोगकर्ताले असीमित टेक्स्ट च्याट तथा कठिन प्रश्नका लागि Think सुविधा प्रयोग गर्न सक्नेछन्।

प्रकाशित मिति : २०८३ साउन २५ गते सोमबार