नेपाली राजनीतिमा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार निर्माणमा भएको पछिल्लो सहमतिले नयाँ तरङ्ग पैदा गरेको छ। नेपालका दुई प्रमुख बामपन्थी शक्तिहरू—नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रदेश स्तरमा राजनीतिक सहकार्य गर्ने सहमति भएसँगै राजनीतिक वृत्तमा विभिन्न टिकाटिप्पणी र बहस सुरु भएका छन्।
यसै सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टीका दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै बाम एकता र सहकार्यको सम्भावनाले केही बाम विश्लेषक तथा बुद्धिजीवीहरूलाई असजिलो बनाएको दाबी गर्नुभएको छ। “अचम्म लाग्छ ! ‘कालो चस्मा ग्याङ’को सरकार बनेदेखि चुप लागेका केही कथित ‘बाम बुद्धिजीवी’हरू नेपालमा बामपन्थी शक्तिहरूबीच एकताको संकेत देखिनासाथ गुनासो गर्न थालेका छन्,” आचार्यले लेख्नुभएको छ, “लाग्छ, बाम एकताको सम्भावनाले उनीहरूलाई असहज बनाएको छ। विचारसँग असहमति हुन सक्छ, तर बाम एकताको सम्भावनाले यति धेरै बेचैनी किन ?”
अहिले एमाले र नेकपाबीच भएको सहकार्यलाई कतिपय विश्लेषकहरूले विशुद्ध ‘सत्ता स्वार्थको मिलन’ भनी आरोप लगाइरहेका छन्। तर, बामपन्थी वृत्तभित्र भने यसलाई फेरि कम्युनिस्ट ध्रुवीकरण र विचारमा आधारित राजनीतिक सहकार्यको प्रस्थानविन्दुका रूपमा हेर्न थालिएको छ।
विगतका कटुता र राजनीतिक विभाजनलाई पन्छाउँदै प्रदेश सरकार गठनमा दुई नेताबीच भएको यो सहमतिले संघदेखि प्रदेशसम्मको शक्ति सन्तुलनमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ। विश्लेषकहरूका अनुसार, बाम घटकहरू अलग्गै लड्दा इतरका शक्तिहरूले राजनीतिक लाभ उठाएको महसुस गरेपछि दुवै पक्ष पुनः व्यवहारिक सहकार्यको बिन्दुमा पुगेका हुन्।
तथापि, यो सहकार्य केवल सत्ता टिकाउने र बनाउने खेलमा मात्र सीमित हुने हो कि वास्तवमै स्थायी बाम एकतातिर अघि बढ्ने हो भन्नेमा अझै आशङ्काहरू कायमै छन्। आलोचना र आरोपहरूका बीच सुरु भएको यो नयाँ सहकार्यले आगामी दिनमा नेपाली राजनीतिलाई कुन दिशातिर लैजान्छ, त्यो भने हेर्न बाँकी नै छ।












प्रतिक्रिया दिनुहोस्