Chauthoanga
२०८३ साउन ७ , बिहीबार

आज (नेकपा)का संस्थापक पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस



नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। स्मृति दिवसका अवसरमा विभिन्न राजनीतिक दल तथा संगठनहरूले उहाँको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन्।

स्मृति दिवसको अवसरमा नेकपा एमालेको राजधानी प्रदेश कमिटीले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्ने जनाएको छ। त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीलगायत अन्य वामपन्थी संगठनहरूले पनि पुष्पलालको राजनीतिक योगदानको चर्चा गर्दै विविध कार्यक्रम गर्ने जानकारी दिएका छन्।

वि.सं. १९८१ साल असार १५ गते रामेछापमा पिता भक्तलाल श्रेष्ठ र आमा तुलसीकुमारी श्रेष्ठका माहिला छोराका रूपमा जन्मिनुभएका पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख संस्थापक नेतामध्ये एक मानिनुहुन्छ। उहाँ शहीद गंगालाल श्रेष्ठका भाइ पनि हुनुहुन्थ्यो। तत्कालीन राजनीतिक परिस्थितिका कारण लामो समय प्रवासमा बसेर उहाँले नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई संगठित र विस्तार गर्ने काम गर्नुभएको थियो।

पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित विश्वप्रसिद्ध ग्रन्थ ‘कम्युनिस्ट मेनिफेस्टो’ को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो। साथै, विभिन्न पुस्तक, लेख तथा वैचारिक सामग्रीमार्फत नेपाली समाजको वर्गीय विश्लेषण प्रस्तुत गर्दै कम्युनिस्ट आन्दोलनलाई वैचारिक आधार प्रदान गर्नुभएको इतिहासमा उल्लेख छ।

वि.सं. २००६ साल वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको थियो। त्यसअघि वि.सं. १९९८ सालमा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरी तत्कालीन राणा शासनविरुद्ध राजनीतिक गतिविधि अघि बढाउनुभएको थियो।

पुष्पलालले नेपालमा लोकतान्त्रिक परिवर्तनका लागि विभिन्न प्रजातान्त्रिक शक्तिबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभएको थियो। विशेषगरी नेपाली कांग्रेसलगायत लोकतान्त्रिक शक्तिसँग संयुक्त जनआन्दोलनमार्फत पञ्चायती व्यवस्था अन्त्य गर्नुपर्ने उहाँको राजनीतिक दृष्टिकोण त्यस समयको महत्वपूर्ण विचारका रूपमा लिइन्छ।

दीर्घकालीन राजनीतिक सक्रियतापछि वि.सं. २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा पुष्पलालको निधन भएको थियो। उहाँको निधनपछि पनि उहाँले अघि सारेका राजनीतिक विचार, संगठन निर्माणमा पुर्‍याएको योगदान तथा वैचारिक लेखन नेपाली कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण आधारका रूपमा स्मरण गरिँदै आएको छ।

४८औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमहरूमा सहभागीहरूले पुष्पलालको राजनीतिक योगदान, वैचारिक नेतृत्व र लोकतान्त्रिक आन्दोलनमा उहाँले खेलेको भूमिकाको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय गरिएको आयोजकहरूले बताएका छन्।

प्रकाशित मिति : २०८३ साउन ७ गते बिहीबार