Chauthoanga
२०८३ कात्तिक ५ , बुधबार

आज विजयादशमी, बिहान १०ः२६ बजे टीकाको उत्तम साइत



बडादशैँको मुख्य दिन विजयादशमी आज मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउन चाहनेका लागि बिहान १० बजेर २६ मिनेटको साइत उत्तम रहेको जनाएको छ ।

समितिका अध्यक्ष पुरुषोत्तम भट्टराईले विजयादशमीका दिन दुर्गा विसर्जनपछि दिनभर टीका लगाउन सकिने भए पनि साइत खोज्नेहरूका लागि बिहान १०ः२६ बजेको समय उत्तम रहेको जानकारी दिनुभयो । उहाँका अनुसार घटस्थापनाका दिन स्थापना गरिएको घडामा आह्वान गरिएका देवीको विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ ।

समितिले विजयादशमीको टीका लगाउँदा टीका थाप्ने व्यक्ति पश्चिम फर्कनुपर्ने जनाएको छ । धार्मिक विधिअनुसार दुर्गा विसर्जनपछि मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको छ ।

असत्यमाथि सत्य, अधर्ममाथि धर्म र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा विजयादशमी मनाइन्छ । यो बडादशैँको सबैभन्दा महत्वपूर्ण दिन हो । यस अवसरमा गुरु–पुरोहित, हजुरबा–हजुरआमा, बुबा–आमा तथा अन्य मान्यजनबाट टीका, जमरा लगाई सुख, शान्ति, समृद्धि र दीर्घायुको आशीर्वाद लिने गरिन्छ ।

धार्मिक मान्यताअनुसार विजयादशमीका दिन देवी दुर्गाले महिषासुरमाथि र भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेका थिए । त्यसैले यस पर्वलाई अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ । विजयादशमीको धार्मिक तथा पौराणिक पक्ष मार्कण्डेय पुराणअन्तर्गतको ‘देवीमाहात्म्य’ मा समेत वर्णन गरिएको छ ।

दसैँमा लगाइने रातो टीकालाई शक्ति, विजय, सौभाग्य र मङ्गलको प्रतीक मानिन्छ भने जमरालाई उर्वरता, जीवनशक्ति र समृद्धिको प्रतीकका रूपमा लिइन्छ । नवरात्रका नौ दिनसम्म विधिपूर्वक दुर्गा भवानीको पूजा–आराधना गरी घटस्थापनाका दिन राखिएको जमरा र पूजा गरिएको प्रसाद विजयादशमीका दिन ग्रहण गर्ने परम्परा छ ।

यस अवसरमा मान्यजनले परिवारका सदस्य तथा आफन्तलाई दीर्घायु, ऐश्वर्य, पराक्रम, ज्ञान, सत्यनिष्ठा र कीर्तिको कामना गर्दै आशीर्वाद दिने चलन छ । धार्मिक परम्पराअनुसार अश्वत्थामाको जस्तो आयु, राजा दशरथको जस्तो ख्याति, भगवान् रामको जस्तो विजय, कर्णको जस्तो दानशीलता र युधिष्ठिरको जस्तो सत्यनिष्ठा प्राप्त होस् भन्ने कामनासहित आशीर्वाद दिइन्छ ।

दसैँले परिवारका सदस्य, आफन्त र बन्धुबान्धवलाई एकै ठाउँमा भेला गराई आपसी प्रेम, सद्भाव र मेलमिलाप बढाउन सहयोग पुर्‍याउँछ । रोजगारी, अध्ययन तथा अन्य कारणले घरपरिवारबाट टाढा रहेका सदस्यसमेत यस पर्वमा घर फर्किने भएकाले पारिवारिक एकता र सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ ।

देशका अधिकांश स्थानमा कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर आशीर्वाद थाप्ने चलन छ । तर केही स्थानमा कुल र पारिवारिक परम्पराअनुसार विजयादशमीका दिन मात्रै टीका लगाउने गरिन्छ । केही समुदायमा दही र अक्षता मिसाएर बनाइएको सेतो टीका लगाउने परम्परासमेत रहेको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक ५ गते बुधबार