यस वर्षको बडादसैँमा तिथि वृद्धि भई दुई दिन महाअष्टमी परेकाले दुवै दिन महाअष्टमीका धार्मिक कर्म गर्नुपर्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोअनुसार कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ।
समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईले कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म कात्तिक २ गते पनि दशैँघर वा पूजा कोठामा दोहोर्याउनुपर्ने जानकारी दिनुभयो।
उहाँका अनुसार कात्तिक २ गते नवरात्रको नवौँ दिन परे पनि तिथि वृद्धिका कारण महाअष्टमीकै कर्म गर्नुपर्ने हुन्छ। त्यस दिन नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजा–आराधना गर्नुका साथै अघिल्लो दिन गरिएका महाअष्टमीसम्बन्धी अन्य धार्मिक कर्म पनि दोहोर्याउनुपर्ने उहाँले बताउनुभयो।
आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गतेकै राति गर्नुपर्ने समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ। अष्टमी तिथि दुई दिन परेकाले यस वर्षको नवरात्र दशरात्र बन्न पुगेको हो। विजयादशमीका दिन टीका लगाउँदा १० रात्रिका जमरा लगाइनेछ।
धर्मशास्त्रविद्हरूका अनुसार देवीको साधना, पूजा तथा आराधना गर्ने अवधि एक दिन बढ्दैमा धार्मिक अनुष्ठानमा फरक पर्दैन।
हनुमानढोकामा सोमबार राति कालरात्रि पूजा
राज्यका तर्फबाट हनुमानढोका दरबारमा गरिने कालरात्रि पूजा भने कात्तिक २ गते सोमबार राति गरिने भएको छ। हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले समितिसँगको परामर्श र तलेजुका पुजारीले गर्दै आएको परम्पराअनुसार सोमबार राति कालरात्रि पूजा गरिने जानकारी दिनुभयो।
उहाँका अनुसार हनुमानढोका दरबारमा महाअष्टमीको कर्म गरेलगत्तै अर्को दिन महानवमीको पूजा–आराधनालगायत धार्मिक कर्म गर्ने परम्परा रहेकाले सोहीअनुसार पूजा गर्ने निर्णय गरिएको हो।
दरबार हेरचाह अड्डाका अनुसार कात्तिक १ गते आइतबार हनुमानढोका दरबारको दशैँघरमा महाअष्टमीको सामान्य पूजा गरिएको थियो। मूल पूजा भने सोमबार गरिनेछ।
महाअष्टमीको राति हनुमानढोका दरबारमा १०८ पशु बलिसहित पूजा–आराधना गर्ने परम्परा रहँदै आएको छ।




प्रतिक्रिया दिनुहोस्