राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले गरेका निर्णय कार्यान्वयनका क्रममा जनताको हितविपरीत गएको पुष्टि भए त्यस्ता निर्णय परिवर्तन गरिने बताउनुभएको छ। सरकारको नियत जनपक्षीय रहेको उल्लेख गर्दै उहाँले आवश्यक परे निर्णय सच्याउन सरकार तयार रहने बताउनुभयो।
शुक्रबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा रौतहटका विभिन्न राजनीतिक दल परित्याग गरी रास्वपामा प्रवेश गरेका नेताहरूलाई स्वागत गर्ने कार्यक्रममा बोल्दै सभापति लामिछानेले सरकारले किसान, मजदुर र सर्वसाधारणको हितलाई केन्द्रमा राखेर काम गरिरहेको दाबी गर्नुभयो। उहाँका अनुसार निर्णयहरू कार्यान्वयनका क्रममा व्यावहारिक रूपमा जनतालाई लाभभन्दा हानि पुगेको देखिएमा त्यस्ता नीतिमा संशोधन वा परिवर्तन गरिनेछ।
उहाँले सरकारको नियत सही रहेकाले निर्णयमा देखिएका कमजोरी सुधार गर्न सकिने, तर नियतमै समस्या भए त्यसलाई सच्याउन कठिन हुने धारणा राख्नुभयो। कुनै निर्णयले ठूलो नकारात्मक असर पारेमा तत्कालै परिवर्तन गर्नुपर्ने अवस्था पनि आउन सक्ने उहाँको भनाइ थियो।
सभापति लामिछानेले सरकारले जनताको सुरक्षाका लागि लिएका निर्णय तथा अघिल्ला सरकारका पालामा सुरु भएका सकारात्मक कार्यक्रमको समेत निरन्तरतामा जोड दिइएको बताउनुभयो। किसान, मजदुर र श्रमजीवी वर्गलाई अप्ठ्यारो पर्ने नीति दीर्घकालीन रूपमा प्रभावकारी नभए परिवर्तन गरिने उहाँले स्पष्ट पार्नुभयो।
पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले पार्टी गलत बाटोमा गएको महसुस भए नेतृत्वलाई सचेत गराउने जिम्मेवारी पनि कार्यकर्ताकै भएको बताउनुभयो। ताली बजाउने मात्र नभई आवश्यक पर्दा खबरदारी गर्नुपर्ने दायित्व कार्यकर्ताको रहेको उहाँको भनाइ थियो।
उहाँले पार्टीका सांसदहरूले जनताका एजेन्डा सम्बन्धित मन्त्रालयमार्फत औपचारिक रूपमा उठाउनुपर्ने र त्यसअनुसार काम नभए पार्टीले अभिभावकीय भूमिका निर्वाह गर्ने बताउनुभयो। मन्त्रालयबाट नागरिकमुखी माग सम्बोधन नभए पार्टी नेतृत्वले आवश्यक पहल गर्ने उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रममा सभापति लामिछानेले प्रतिनिधिसभा निर्वाचन २०८२ को परिणामबारे टिप्पणी गर्दै पहाडी क्षेत्रमा मतदाताले परम्परागत दलप्रतिको समर्थन घटाएको र मधेशमा जातीय राजनीतिभन्दा वैकल्पिक राजनीतिको पक्षमा मत देखिएको दाबी गर्नुभयो। उहाँले पहाडमा दलगत र मधेशमा जातिगत राजनीतिप्रतिको आकर्षण कमजोर बन्दै गएको टिप्पणी गर्नुभयो।





प्रतिक्रिया दिनुहोस्