लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८२/८३ को पछिल्ला सात महिनामा ४ हजार ९ सय ३४ वटा अपराधका मुद्दा दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार मंसिरदेखि जेठसम्मको अवधिमा औसतमा दैनिक करिब २३ वटा नयाँ अपराधका मुद्दा दर्ता भएका छन् भने ३ हजार ७ सय ४ जना प्रतिवादी पक्राउ परेका छन् ।
प्रहरी तथ्यांकअनुसार वैशाख महिनामा सबैभन्दा धेरै ८ सय ४३ मुद्दा दर्ता भएका छन् । चैतमा ८ सय ३ र जेठमा ७ सय ७७ मुद्दा दर्ता हुँदा पछिल्ला महिनामा अपराधको दर बढ्दो देखिएको छ । सात महिनाको अवधिमा ज्यानसम्बन्धी ७ सय ४८, संगठित तथा आर्थिक अपराधका ७ सय ६४, सामाजिक अपराधका ६ सय ८३, चोरीका ३ सय ३५ तथा महिला र बालबालिकाविरुद्धका ३ सय ३१ मुद्दा दर्ता भएका छन् ।
ज्यानसम्बन्धी अपराध माघपछि क्रमशः बढ्दै गएको तथ्यांकले देखाएको छ । त्यसैगरी संगठित तथा आर्थिक अपराधका मुद्दासमेत चैतदेखि उल्लेख्य रूपमा वृद्धि भएका छन् । अपराध बढेसँगै पक्राउ पर्ने प्रतिवादीको संख्या पनि पछिल्ला महिनामा बढेको प्रहरीको भनाइ छ ।यस अवधिको सबैभन्दा संवेदनशील पक्ष आत्महत्याको उच्च दर बनेको छ । सात महिनामा ७ सय ४५ जनाले आत्महत्या गरेका छन्, जुन दैनिक औसत तीनजनाभन्दा बढी हो । वैशाखमा सबैभन्दा धेरै १ सय ३४ र माघमा सबैभन्दा कम ७६ आत्महत्याका घटना दर्ता भएका छन् ।
प्रहरीका अनुसार अपराध नियन्त्रणका प्रयास जारी रहे पनि बढ्दो ज्यानसम्बन्धी अपराध, आर्थिक कसुर र आत्महत्याका घटनाले मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध तथा समुदायस्तरको सचेतनामा थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।










प्रतिक्रिया दिनुहोस्