Chauthoanga
२०८३ असोज २६ , सोमबार

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै



बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज देशभरका दसैँ घर तथा पूजा कोठामा नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको भीड लागेको छ।

नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिअनुसार घटस्थापना गरी जौँको जमरा राखिएको थियो। सोही दिन घटस्थापना गरिएको स्थानमा नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज ब्रह्मचारिणी देवीको आह्वान गरी धार्मिक विधिअनुसार पूजा गरिँदैछ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रको पाठ गर्ने धार्मिक परम्परा रहेको छ। वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने प्रचलन छ।

धार्मिक मान्यताअनुसार नवरात्रमा दुर्गा देवीको पूजा आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास गरिन्छ। सच्चिदानन्दस्वरूप ब्रह्मको बोध गराउने उद्देश्यले निरन्तर साधनामा लागिरहने देवीका रूपमा ब्रह्मचारिणीलाई व्याख्या गरिएको छ। नवरात्रका नौ दिनसम्म विधिपूर्वक पूजा गरी राखिएको जमरा तथा प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्परा छ।

यसैबीच, काठमाडौंस्थित हनुमानढोका दरबार परिसरमा रहेको दसैँ घरमा पनि राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना गर्ने परम्पराअनुसार आज ब्रह्मचारिणी देवीको पूजा गरिँदैछ। हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार दसैँ घरमा धार्मिक विधिअनुसार देवीको पूजा आराधना गरिनेछ।

नवरात्रलाई शक्ति उपासनाको विशेष पर्वका रूपमा लिइन्छ। यस अवधिमा भक्तजनले देवीका विभिन्न स्वरूपको पूजा आराधना गर्दै धार्मिक आस्था, श्रद्धा र परम्परालाई निरन्तरता दिने गरेका छन्।

प्रकाशित मिति : २०८३ असोज २६ गते सोमबार