हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको छैटौँ दिन आज माता कात्यायनीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। नवरात्रका नौ दिन नवदुर्गाका विभिन्न स्वरूपको पूजा गर्ने परम्पराअनुसार आज भगवती दुर्गाको छैटौँ स्वरूप माता कात्यायनीको पूजा गर्ने धार्मिक मान्यता रहेको छ।
धार्मिक विश्वासअनुसार माता कात्यायनीको पूजाआराधना गर्दा रोग, शोक, भय, दुःख र दरिद्रता नाश हुनुका साथै जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ। कात्यायनी देवीलाई महिषासुरको वध गर्ने शक्तिशाली देवीका रूपमा पनि पूजा गरिन्छ।
धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार महर्षि कात्यायनले भगवतीलाई पुत्रीका रूपमा प्राप्त गर्न कठिन तपस्या गरेपछि देवीले उनको प्रार्थना स्वीकार गरी पुत्रीका रूपमा जन्म लिनुभएको थियो। त्यसैले उहाँको नाम कात्यायनी रहन गएको धार्मिक मान्यता छ। अर्को पौराणिक कथाअनुसार देवता र दैत्यबीचको युद्धमा महिषासुरले आतङ्क मच्चाएपछि ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न देवीले महिषासुरको वध गर्नुभएको थियो।
आजको दिन देशभरका विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा दसैँघरमा भक्तजनले माता कात्यायनीको पूजाआराधना गर्ने परम्परा छ। काठमाडौँ उपत्यकाका गुह्येश्वरी, दक्षिणकाली, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवतीलगायत शक्तिपीठमा पनि दसैँका अवसरमा विशेष पूजाआराधना गरिँदै आएको छ।
धार्मिक मान्यताअनुसार सिंहमा सवार र चार हात भएकी माता कात्यायनीको पूजा गर्दा धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुने विश्वास गरिन्छ। यस दिन भक्तजनले विधिपूर्वक पूजा गरी दीप प्रज्वलन, मन्त्रजप, आरती तथा प्रसाद ग्रहण गर्ने चलन रहेको छ।






प्रतिक्रिया दिनुहोस्